इन्धन मूल्य स्थिर रहे गाडी भाडा नबढाउने महासंघको भनाइ
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडबाडको समयमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन सरकारसँग आग्रह गरेको छ । इन्धनको मूल्य अहिलेकै अवस्थामा रहे सार्वजनिक यातायातको भाडा पनि नबढाउने महासंघले जनाएको छ ।
असोज १२ गते बसेको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष सरोज सिटौलाले चाडबाडमा यात्रुलाई थप आर्थिक भार नपार्न सरकारले पेट्रोलियम पदार्थको मूल्य स्थिर राख्नुपर्ने बताए । इन्धन मूल्य नबढे व्यवसायीहरू हाल कायम भाडादरमै देशभर यात्रु सेवा सञ्चालन गर्न तयार रहेको उनको भनाइ छ ।
सिटौलाका अनुसार चाडबाडमा यात्रुको चाप एकतर्फी हुने भएकाले सार्वजनिक यातायात सञ्चालनको लागत व्यवस्थापन थप चुनौतीपूर्ण हुन्छ । काठमाडौंबाट बाहिरिने सवारीमा यात्रुको चाप धेरै भए पनि फर्किने क्रममा पर्याप्त यात्रु नपाउँदा व्यवसायीले दुवैतर्फ समान आम्दानी गर्न सक्दैनन् ।
पेट्रोलियम पदार्थको मूल्य बढे अहिलेको भाडादरमा गाडी सञ्चालन गर्न कठिन हुने भन्दै महासंघले चाडबाडको अवधिमा मूल्य समायोजन नगर्न सरकारको ध्यानाकर्षण गराएको हो । यद्यपि सरकारले इन्धन मूल्य स्थिर राख्ने वा यातायात भाडासम्बन्धी कुनै नयाँ निर्णय गरेको जानकारी सार्वजनिक भएको छैन ।