हिरोले ल्यायो फ्लेक्स–फ्युल स्प्लेन्डर प्लस र एचएफ डिलक्स, मूल्य भारु ७२ हजार ७९२ रुपैयाँबाट सुरु
काठमाडौं । भारतीय दुईपांग्रे सवारी निर्माता Hero MotoCorp ले फ्लेक्स–फ्युल प्रविधियुक्त स्प्लेन्डर प्लस र एचएफ डिलक्स मोटरसाइकल सार्वजनिक गरेको छ। यी मोटरसाइकलहरू इथानोल मिश्रणयुक्त इन्धन (E20 देखि E85 सम्म) प्रयोग गर्न सक्ने गरी विकास गरिएका हुन् ।
कम्पनीले स्प्लेन्डर प्लस फ्लेक्स–फ्युल को मूल्य भारु ८२ हजार ७१० रुपैयाँ र एचएफ डिलक्स फ्लेक्स–फ्युल को मूल्य भारु ७२ हजार ७९२ रुपैयाँ एक्स–शोरुम, दिल्ली तोकेको छ ।
नयाँ फ्लेक्स–फ्युल संस्करणहरू जुलाई २०२६ देखि दिल्ली तथा महाराष्ट्रका केही क्षेत्रमा बिक्री सुरु हुनेछन् । त्यसपछि क्रमशः भारतभर उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
E20 देखि E85 सम्मको इथानोल मिश्रणमा चल्ने
दुवै मोटरसाइकलमा कम्पनीको चर्चित ९७.२ सीसी सिंगल–सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसलाई E20 देखि E85 सम्मको इथानोल मिश्रणयुक्त इन्धनमा सञ्चालन गर्न मिल्ने गरी परिमार्जन गरिएको हो ।
E85 इन्धन प्रयोग गर्दा इन्जिनले ८.६ hp शक्ति ८,००० आरपीएममा र ८.३ एनएम टर्क ६,००० आरपीएममा उत्पादन गर्छ ।
उच्च इथानोल मिश्रणमा सहज सञ्चालनका लागि कम्पनीले नयाँ ईसीयू (ECU) क्यालिब्रेसन, अपग्रेड गरिएको फ्युल सिस्टम, नयाँ फ्युल पम्प तथा सेकेन्डरी फ्युल फिल्टर जस्ता सुधारहरू गरेको छ ।
सस्तो मूल्यमा फ्लेक्स–फ्युल प्रविधि
कम्पनीका अनुसार एचएफ डिलक्स फ्लेक्स–फ्युलको मूल्य E20-अनुकूल साधारण मोडलभन्दा केवल भारु १७२ रुपैयाँ मात्र बढी छ । त्यस्तै स्प्लेन्डर प्लस फ्लेक्स–फ्युलको मूल्य साधारण संस्करणभन्दा भारु ५ हजार १५३ रुपैयाँ बढी रहेको छ ।
यसले फ्लेक्स–फ्युल प्रविधिलाई उच्च क्षमताका मोटरसाइकलबाट बाहिर ल्याएर सर्वसाधारण कम्युटर सेग्मेन्टमा पुर्याएको कम्पनीको दाबी छ ।
डिजिटल–एनालग मिटर र आधुनिक फिचर
दुवै मोटरसाइकलमा डिजिटल–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, साइड–स्ट्यान्ड इन्जिन कट–अफ प्रणाली तथा ट्युबलेस टायर जस्ता फिचर समावेश छन् ।
यसका साथै स्प्लेन्डर प्लस फ्लेक्स–फ्युलमा कम्पनीको i3S (आइडल स्टप–स्टार्ट सिस्टम) पनि उपलब्ध गराइएको छ, जसले इन्धन बचतमा सहयोग पुर्याउँछ ।
भारतीय बजारमा ठूलो प्रभाव पर्ने अपेक्षा
हिरोका अनुसार स्प्लेन्डर र एचएफ सिरिजका मोटरसाइकलहरूले भारतका सडकमा गुडिरहेका कुल मोटरसाइकलमध्ये करिब एक तिहाइ हिस्सा ओगटेका छन् । त्यसैले यी लोकप्रिय मोडलमा फ्लेक्स–फ्युल प्रविधि ल्याइनुले इथानोल आधारित इन्धनको प्रयोग विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।