Newad1
Featured blog image

फोर्ड–जिलीको ऐतिहासिक सहकार्य, युरोपमै बन्ने नयाँ पुस्ताका सवारी किन विशेष छन् ?

काठमाडौँ । अमेरिकी अटो निर्माता फोर्ड मोटर कम्पनी र चिनियाँ अटोमोबाइल समूह जिली अटोमोबाइल होल्डिङले युरोपेली बजारलाई लक्षित गर्दै नयाँ रणनीतिक सहकार्यको घोषणा गरेका छन् । दुवै कम्पनीले स्पेनस्थित फोर्डको भ्यालेन्सिया उत्पादन केन्द्रलाई आधार बनाएर संयुक्त कम्पनी स्थापना गर्ने योजना सार्वजनिक गरेका हुन्, जसबाट भविष्यका नयाँ ऊर्जा सवारी उत्पादन गरिनेछ ।

घोषणा गरिएको प्रस्तावअनुसार नयाँ संयुक्त कम्पनीमा फोर्डको ६६ प्रतिशत र जिलीको ३४ प्रतिशत स्वामित्व रहनेछ । आवश्यक नियामकीय स्वीकृति प्राप्त भएपछि सन् २०२७ को पहिलो छामाहीदेखि कम्पनी सञ्चालनमा आउने लक्ष्य राखिएको छ भने पहिलो नयाँ मोडल सन् २०२८ मा उत्पादन लाइनबाट बाहिरिने तयारी गरिएको छ ।

यो सहकार्यलाई फोर्डले युरोपमा आफ्नो नयाँ उत्पादन रणनीतिलाई तीव्र बनाउने अवसरका रूपमा लिएको छ भने जिलीका लागि युरोपमै स्थानीय उत्पादन विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । एउटै उत्पादन पूर्वाधार, अनुसन्धान तथा विकास क्षमताको उपयोग गर्दै उत्पादन लागत घटाउने र नयाँ मोडल बजारमा छिटो ल्याउने उद्देश्य दुवै कम्पनीको रहेको बताइएको छ ।

स्पेनको भ्यालेन्सिया प्लान्ट युरोपकै अत्याधुनिक अटोमोबाइल उत्पादन केन्द्रमध्ये एक मानिन्छ । वार्षिक करिब पाँच लाख सवारी उत्पादन क्षमता रहेको यस प्लान्टलाई अब साझा उत्पादन केन्द्रका रूपमा विकास गरिनेछ । यसबाट उत्पादन क्षमताको पूर्ण उपयोग हुनुका साथै स्पेनको अटोमोबाइल उद्योगमा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

संयुक्त कम्पनी स्थापना भएपछि हाल उत्पादन भइरहेको फोर्ड कुगा को उत्पादन भने निरन्तर रहनेछ । त्यससँगै सन् २०२८ देखि नयाँ मोडलहरूको उत्पादन पनि सुरु हुनेछ । फोर्डको लोकप्रिय ब्रन्को परिवारमा नयाँ कम्प्याक्ट अफरोड एसयूभी थपिनेछ भने फोर्डको नेतृत्वमा डिजाइन गरिएको नयाँ क्रसओभर पनि जिलीसँगको सहकार्यमा विकास गरिनेछ ।

यससँगै जिलीले पनि आफ्ना दुई नयाँ ऊर्जा सवारी यही प्लान्टबाट उत्पादन गर्ने योजना बनाएको छ । तीमध्ये ईएक्स२ मोडल विशेष चर्चामा रहेको छ, जसलाई चिनियाँ बजारमा जिली सिङयुआन नामले बिक्री गरिँदै आएको छ । उक्त मोडल हाल चीनमा सबैभन्दा धेरै बिक्री हुने मोडलहरूमध्ये एक मानिन्छ । 

footer