भाडादेखि चालकसम्म यात्रुकै छनोट, इनड्राइभको नयाँ अभियान सार्वजनिक
काठमाडौं, २४ असार । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली बजारमा आफ्नो यात्रु–केन्द्रित सेवा अवधारणालाई थप प्रभावकारी रूपमा प्रस्तुत गर्ने उद्देश्यले ‘आफ्नै रोजाइको भाडा । यहाँ मात्र ।’ भन्ने मूल नारासहित प्यासेन्जर ३६०° क्याम्पेन सुरु गरेको छ । कम्पनीका अनुसार जुनदेखि सुरु भएको यो अभियान आगामी सेप्टेम्बरसम्म काठमाडौं उपत्यकालाई केन्द्रमा राखेर सञ्चालन हुनेछ ।
दैनिक आवागमनमा पारदर्शी भाडा, सहज सेवा र यात्रुको निर्णय गर्ने अधिकारलाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ । इनड्राइभका अनुसार यस क्याम्पेनमार्फत यात्रुले आफ्नो आवश्यकता, समय र बजेटअनुसार यात्रा छनोट गर्न सक्ने सेवाको विशेषतालाई व्यापक रूपमा प्रस्तुत गरिनेछ ।
काठमाडौंजस्तो तीव्र गतिमा विस्तार भइरहेको सहरमा ट्राफिक जाम, सार्वजनिक यातायातको अनियमितता र समय व्यवस्थापन दैनिक चुनौतीका रूपमा देखिन्छ । यस्ता परिस्थितिमा यात्रुहरू केवल सवारी खोज्नेभन्दा पनि स्पष्ट भाडा, भरपर्दो सेवा र आफ्नो आवश्यकता अनुसारको विकल्प खोज्ने प्रवृत्ति बढ्दै गएको कम्पनीको विश्लेषण छ ।
इनड्राइभले नेपालमा सेवा सुरु गरेदेखि नै यात्रुलाई आफूले तिर्न चाहेको भाडा प्रस्ताव गर्ने, उपलब्ध चालकहरूको विवरण हेर्ने तथा आफूलाई उपयुक्त चालक छनोट गर्ने सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीका अनुसार यात्रु र चालकबीच भाडामा सहमति भएपछि मात्रै यात्रा सुरु हुने प्रणालीले दुवै पक्षलाई थप पारदर्शी र विश्वासिलो अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
कम्पनीले अभियान अवधिभर डिजिटल भिडियो सामग्री, सामाजिक सञ्जाल अभियान, बाह्य विज्ञापन, प्रभावशाली व्यक्तित्वसँगको सहकार्य, इन–एप गतिविधि तथा काठमाडौंका विभिन्न स्थानमा प्रत्यक्ष प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । यसमार्फत सेवाको विशेषता थप धेरै यात्रुसम्म पुर्याउने लक्ष्य राखिएको छ ।
अभियानमा बिहान सबेरै काममा निस्कने कर्मचारीदेखि बेलुका अबेरसम्म यात्रा गर्ने सर्वसाधारण, विद्यार्थी, युवा पेशाकर्मी तथा स्वतन्त्र रूपमा सहरमा आवतजावत गर्ने महिलासम्मका वास्तविक यात्रु अनुभवलाई समेटिने कम्पनीले जनाएको छ । प्रत्येक यात्रुको आवश्यकता फरक हुने भएकाले सबैलाई आफ्नो परिस्थिति अनुसार यात्रा छनोट गर्ने अवसर उपलब्ध हुनुपर्ने सन्देश अभियानले दिनेछ ।
इनड्राइभका अनुसार यसको सेवा मोडल यात्रु र चालक दुवैलाई निर्णय प्रक्रियामा समान सहभागिता दिने अवधारणामा आधारित छ । यात्रुले प्रस्ताव गरेको भाडा चालकले स्वीकार गर्न, अस्वीकार गर्न वा वैकल्पिक प्रस्ताव राख्न सक्ने व्यवस्था रहेको र अन्तिम सहमतिपछि मात्रै यात्रा अघि बढ्ने प्रणालीले अन्य धेरै प्लेटफर्मभन्दा फरक अनुभव दिने कम्पनीको दाबी छ ।
इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेलले काठमाडौंका यात्रुहरूले सहज सेवासँगै स्पष्ट भाडा, थप विकल्प र आफ्नै निर्णयमा आधारित यात्रा अनुभवलाई महत्व दिने गरेको बताइन् । उनका अनुसार नयाँ अभियानले यात्रुको यही अपेक्षालाई केन्द्रमा राख्दै कम्पनीको पारदर्शी, लचक र प्रयोगकर्तामैत्री सेवाप्रतिको प्रतिबद्धतालाई अझ मजबुत रूपमा प्रस्तुत गर्नेछ ।
कम्पनीले यो अभियानमार्फत अनुमान गर्न सकिने भाडा प्रणाली, यात्रुको छनोटको अधिकार र दैनिक शहरी आवागमनलाई थप सहज बनाउने सेवाप्रतिको आफ्नो पहिचानलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।