गाडी अब सवारी मात्रै होइन, घरको ब्याट्री पनि : जर्मनीले खोल्यो नयाँ बाटो
काठमाडौं । घरमा पार्क गरेर राखिएको विद्युतीय गाडीले राति बत्ती, टेलिभिजन वा अन्य विद्युतीय उपकरण चलाउन सक्छ ? अझ बढी बिजुली भए त्यसलाई विद्युत् ग्रिडमै फिर्ता पठाएर आम्दानी गर्न सकिन्छ ? प्राविधिक रूपमा यस्तो प्रयोग सम्भव भए पनि नियम, मिटर र बिलिङ प्रणालीका कारण यसको व्यावसायिक प्रयोग सीमित थियो । जर्मनीले यही अवरोध हटाउने नयाँ नियामकीय बाटो खोलेको छ ।
जर्मनीको ऊर्जा नियामक
बुन्डेसनेट्जएन्तुरले जारी गरेको ‘मार्केट इन्टिग्रेसन अफ स्टोरेज एन्ड चार्जिङ
पोइन्ट्स’ अर्थात् मिस्पेल व्यवस्थाले ईभी ब्याट्रीमा भण्डारण भएको बिजुली घरमा
प्रयोग गर्न वा ग्रिडमा फिर्ता पठाउन सकिने आधार तयार गरेको हो । नयाँ व्यवस्थाले
अनुदान प्राप्त सोलार प्रणाली भएका घरमा छतको सोलार र ग्रिडबाट आएको बिजुली एउटै
ब्याट्रीमा भण्डारण गर्दा नवीकरणीय ऊर्जा सहायता गुम्ने पुरानो अवरोध हटाएको छ ।
यसलाई बुझ्न भीटूएच र भीटूजीबीचको
अन्तर छुट्याउनुपर्छ । भीटूएच अर्थात् ‘भेहिकल टु होम’ मा गाडीको ब्याट्रीले घरलाई
बिजुली दिन्छ । भीटूजी अर्थात् ‘भेहिकल टु ग्रिड’ मा त्यही ऊर्जा सार्वजनिक
विद्युत् प्रणालीमा फिर्ता पठाइन्छ । बिजुली सस्तो वा सोलार उत्पादन बढी भएको
समयमा ब्याट्री चार्ज गरेर माग र मूल्य बढेको समयमा प्रयोग वा बिक्री गर्न सकिन्छ
। यस अर्थमा ईभी केवल बिजुली खपत गर्ने साधन नभई आवश्यक समयमा ऊर्जा दिन सक्ने
चलायमान ब्याट्री बन्छ ।
तर सोलार प्यानल, ग्रिड र ब्याट्रीको
बिजुली एउटै प्रणालीमा मिसिएपछि कुन ऊर्जा कहाँबाट आयो र कहाँ गयो भन्ने छुट्याउनुपर्छ
। जर्मनीको नयाँ व्यवस्थाले १५–१५ मिनेटको मिटर रिडिङ र लेखा प्रणाली प्रयोग गरेर
सोलारबाट उत्पादित, ग्रिडबाट लिइएको र ब्याट्रीबाट फिर्ता पठाइएको बिजुली पहिचान
गर्ने व्यवस्था गरेको छ । यसैले अनुदान पाउने हरित बिजुली र सामान्य ग्रिड
बिजुलीलाई बिलिङमा अलग राख्न मद्दत गर्छ ।
नियम खुलेको अर्थ प्रत्येक ईभीले आजै
घर चलाउन वा बिजुली बेच्न सक्छ भन्ने होइन । यसका लागि गाडीले दुईतर्फी चार्जिङ
सपोर्ट गर्नुपर्छ । बिजुली गाडीमा पठाउने मात्र होइन, ब्याट्रीबाट सुरक्षित रूपमा
घर वा ग्रिडतर्फ फर्काउन सक्ने उपयुक्त चार्जर, इन्भर्टर, स्मार्ट मिटर, ऊर्जा
व्यवस्थापन सफ्टवेयर र ग्रिड सञ्चालकको स्वीकृति पनि चाहिन्छ । गाडीमा बाहिरी
उपकरण चलाउने भीटूएल सुविधा हुनु मात्रै पूर्ण भीटूएच वा भीटूजी क्षमता भएको
प्रमाण होइन ।
गाडीधनीका लागि आर्थिक फाइदा पनि
स्वचालित रूपमा सुनिश्चित हुँदैन । सस्तो समयमा चार्ज गरेर महँगो समयमा बिजुली
बेच्दा हुने आम्दानीबाट दुईतर्फी चार्जरको लागत, ऊर्जा रूपान्तरणमा हुने क्षति,
शुल्क तथा ब्याट्री प्रयोगको असर घटाउनुपर्छ । बारम्बार चार्ज र डिस्चार्ज हुँदा
ब्याट्रीमा थप साइकल जोडिन्छन् । यसको वास्तविक प्रभाव ब्याट्रीको तापक्रम,
डिस्चार्जको गहिराइ, बीएमएस र निर्माताको वारेन्टी सर्तमा निर्भर हुन्छ ।