Newad1
Featured blog image

जीडब्ल्यूएमको ईभी बिक्रीमा ओरा चम्कियो, सेप्टेम्बरमा बिक्री ७९ प्रतिशत बढ्यो

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता ग्रेट वाल मोटर अर्थात् जीडब्ल्यूएमले सन् २०२६ को सेप्टेम्बरमा ४१ हजार ९८२ वटा न्यू इनर्जी भेहिकल बिक्री गरेको छ । यो अघिल्लो वर्षको सोही महिनाभन्दा ८.६६ प्रतिशत कम भए पनि अगस्टको तुलनामा ३.१५ प्रतिशत बढी हो ।

सेप्टेम्बरमा न्यू इनर्जी भेहिकलले जीडब्ल्यूएमको कुल बिक्रीमा ३६.५२ प्रतिशत हिस्सा ओगटेको छ, जुन अहिलेसम्मकै उच्च मासिक हिस्सा हो । यद्यपि, वर्षको पहिलो नौ महिनामा कम्पनीको न्यू इनर्जी भेहिकल बिक्री ५.९२ प्रतिशत घटेर २ लाख ६१ हजार ९६७ वटामा सीमित भएको छ ।

जीडब्ल्यूएमको विद्युतीय ब्रान्ड ओरा सेप्टेम्बरमा कम्पनीको सबैभन्दा बलियो पक्ष बनेको छ । ओरा ब्रान्डले ११ हजार २०२ वटा गाडी बिक्री गर्दै अघिल्लो वर्षको तुलनामा ७९.०९ प्रतिशत वृद्धि हासिल गरेको छ । यो ओरा बिक्री बढेको लगातार छैटौँ महिना हो । वर्षको पहिलो नौ महिनामा ओरा बिक्री दोब्बर भएर ५९ हजार ४२९ वटा पुगेको छ, जुन सन् २०२५ भरि भएको ४८ हजार २८९ वटा बिक्रीभन्दा पनि बढी हो ।

कम्पनीको समग्र बिक्री भने दबाबमा देखिएको छ । जीडब्ल्यूएमले सेप्टेम्बरमा कुल १ लाख १४ हजार ९४४ वटा गाडी बिक्री गरेको छ, जुन अघिल्लो वर्षभन्दा १३.९९ प्रतिशत कम हो । चीनभित्रको बिक्री करिब ३४ प्रतिशत घटेर ५४ हजार ९२५ वटामा झरे पनि विदेशी बजारमा बिक्री १९.४० प्रतिशत बढेर ६० हजार १९ पुगेको छ । विदेशी बजारले सेप्टेम्बरको कुल बिक्रीमा ५२.२२ प्रतिशत हिस्सा ओगटेको छ ।

नेपालमा जीडब्ल्यूएम गाडीको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालि हो । कम्पनीले यहाँ ओरा ५ र हाभल जोलियन म्याक्स ईभी बिक्री गर्दै आएको छ । चीनमा ओरा ब्रान्डको तीव्र बिक्री वृद्धिले जीडब्ल्यूएमको विद्युतीय पोर्टफोलियोप्रति अन्तर्राष्ट्रिय बजारको चासोलाई बल दिन सक्छ ।

footer