जीडब्लूएमले अपडेट गर्यो ओरा ब्यालेट क्याट, अब बढी शक्तिशाली मोटरसहित आउँदै
काठमाडौं । चिनियाँ अटो निर्माता जीडब्लूएमले आफ्नो चर्चित विद्युतीय ह्याचब्याक ओरा ब्यालेट क्याटको अपडेटेड संस्करण सार्वजनिक गरेको छ । फक्सवागनको क्लासिक बिटलसँग मिल्दोजुल्दो डिजाइनका कारण चर्चामा आएको यो मोडल अब अझ शक्तिशाली मोटरसहित बजारमा आउने भएको हो । साथै, कम्पनीले यसको नाम परिवर्तन गरेर ‘ओरा ६’ राख्ने तयारी समेत गरेको संकेत दिएको छ ।
जीडब्लूएमले चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) मा दर्ता गराएको विवरणअनुसार नयाँ मोडलले हाल बिक्रीमा रहेको ब्यालेट क्याटकै डिजाइनलाई निरन्तरता दिएको छ । गोलाकार हेडलाइट, क्रोम फिनिसिङ, उभिएका फेन्डर र ढल्किएको छतका कारण यो मोडल अझै पनि फक्सवागन बिटलसँग निकै मिल्दोजुल्दो देखिन्छ । चार्जिङ पोर्ट भने अगाडिका दुवै फेन्डरमा राखिएको छ ।
अपडेटेड मोडलको लम्बाइ ४,४०१ एमएम, चौडाइ १,८५३ एमएम र उचाइ १,६८१ एमएम छ भने ह्विलबेस २,७५० एमएम रहेको छ । यसमा १८ इन्चका अलोय ह्विल प्रयोग गरिएको छ । गाडीको कर्ब तौल १,७५० किलोग्राम रहेको छ ।
यसपटक सबैभन्दा ठूलो परिवर्तन पावरट्रेनमा गरिएको छ । नयाँ ओरा ब्यालेट क्याटमा १५० किलोवाट (२०१ हर्सपावर) क्षमताको विद्युतीय मोटर जडान गरिएको छ । अघिल्लो मोडलमा १२६ किलोवाट (१६९ हर्सपावर) क्षमताको मोटर थियो । यससँगै नयाँ संस्करणमा करिब ३२ हर्सपावर बढी शक्ति प्राप्त भएको छ ।
मोटरको शक्ति बढेसँगै गाडीको अधिकतम गति पनि बढेको छ । अघिल्लो संस्करणको टप स्पिड १५५ किलोमिटर प्रतिघण्टा रहेकामा नयाँ मोडलले १८० किलोमिटर प्रतिघण्टासम्मको गति हासिल गर्न सक्ने कम्पनीको विवरणमा उल्लेख छ ।
ब्याट्रीका लागि जीडब्लूएमकै सहायक कम्पनी एसभोल्टको एलएफपी (लिथियम–फेरो–फस्फेट) ब्याट्री प्याक प्रयोग गरिएको छ । यद्यपि, कम्पनीले यसको क्षमता र एकपटकको फुल चार्जमा प्राप्त हुने रेन्जबारे भने अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन ।
ओरा ब्यालेट क्याट पहिलो पटक सन् २०२२ मा चिनियाँ बजारमा सार्वजनिक गरिएको थियो । त्यतिबेला यसको मूल्य १ लाख ९३ हजारदेखि २ लाख २३ हजार युआन बीच निर्धारण गरिएको थियो । कम्पनीले यसलाई विशेषगरी महिला ग्राहकलाई लक्षित गर्दै बजारमा ल्याएको थियो । यसमा ‘लेडी ड्राइभिङ मोड’, सेल्फी क्यामेरा तथा ‘वार्म म्यान मोड’ जस्ता विशेष फिचर समावेश गरिएका थिए ।
यद्यपि, आकर्षक डिजाइन र फरक अवधारणाका बाबजुद यो मोडलले बजारमा अपेक्षित सफलता हासिल गर्न सकेन । चीन ईभी डाटा ट्र्याकरका अनुसार सन् २०२२ जुलाईदेखि २०२६ जुनसम्म ओरा ब्यालेट क्याटको कुल ८,५२३ युनिट मात्र बिक्री भएको छ ।
कमजोर बिक्रीका बाबजुद जीडब्लूएमले यस मोडललाई निरन्तरता दिएको छ । कम्पनीले पछिल्लो समय आफ्नो नामकरण रणनीति परिवर्तन गर्दै ‘क्याट’ नाम हटाएर संख्यामा आधारित नाम प्रयोग गर्न थालेको छ । यसअघि ओरा ५ अन्तर्राष्ट्रिय बजारमा प्रवेश गरिसकेको छ भने चाँडै ओरा ७ पनि सार्वजनिक गर्ने तयारी भइरहेको छ । यही रणनीतिअनुसार अपडेटेड ब्यालेट क्याटलाई ‘ओरा ६’ नाम दिइने सम्भावना बलियो देखिएको छ ।