Newad1
Featured blog image

होन्डाले मिलानमा नयाँ अफ्रिका ट्विन, फायरब्लेड र एडीभी १२५ सार्वजनिक गर्‍यो


काठमाडौँ । होन्डाले इटालीको मिलानमा आयोजित ईआईसीएमए (EICMA) मोटरसाइकल प्रदर्शनीमा नयाँ पुस्ताका अफ्रिका ट्विन र फायरब्लेड पहिलोपटक सार्वजनिक गरेको छ । नोभेम्बर ३ मा युरोपेली बजारका लागि देखाइएको नयाँ लाइनअपमा एडीभी १२५ स्कुटर पनि छ ।


नयाँ अफ्रिका ट्विन तीन भेरियन्टमा आएको छ । यसमा स्ट्यान्डर्ड अफ्रिका ट्विन र लामो यात्राका लागि बनाइएको एड्भेन्चर स्पोर्ट्ससँगै अफरोडका लागि एन्डुरो स्पोर्ट्स थपिएको छ । तीनवटैमा १,१३१ सीसीको दुई सिलिन्डर इन्जिन छ । यसले ८७.५ किलोवाट पावर र ११९ न्युटन मिटर टर्क दिन्छ ।


एड्भेन्चर स्पोर्ट्सको डीसीटी भेरियन्टमा होन्डा सेन्सिङ राइड वैकल्पिक सुविधाका रूपमा उपलब्ध हुनेछ । होन्डाको मोटरसाइकलमा पहिलोपटक उपलब्ध हुने यो प्रणालीले अगाडि र पछाडिका राडारबाट वरपरका सवारी पत्ता लगाउँछ । यसले अगाडिको सवारीसँग दूरी कायम गर्न सघाउँछ र ठक्करको जोखिम वा ऐनामा नदेखिने ठाउँमा अर्को सवारी हुँदा चालकलाई सतर्क गराउँछ ।



नयाँ फायरब्लेड स्ट्यान्डर्ड, एसपी र एचआरसी वर्क्स एडिसन गरी तीन भेरियन्टमा सार्वजनिक भएको छ । एल्युमिनियम फ्रेम र स्विङआर्मसहित यसका करिब ७५ प्रतिशत पार्टपुर्जा नयाँ डिजाइनका छन् । एचआरसी वर्क्स एडिसन यस सिरिजमा थपिएको नयाँ भेरियन्ट हो ।

एडीभी १२५ स्कुटरमा १२५ सीसीको ईएसपी प्लस इन्जिन, ५ इन्चको रङ्गीन टीएफटी डिस्प्ले र फोन जोड्न मिल्ने होन्डा रोडसिङ्क सुविधा छ ।

होन्डाले प्रदर्शनीमा उत्पादन गर्ने योजना रहेको भी३आर ९०० ई–कम्प्रेसर मोटरसाइकल पनि देखाएको छ । यसमा इलेक्ट्रोनिक नियन्त्रण भएको कम्प्रेसरसहितको तीन सिलिन्डर इन्जिन छ ।


footer