नामको संकेत आयो, कस्तो हुँदै छ हुन्डाईको सानो ईभी ?
काठमाडौँ । भारतका लागि हुन्डाईले विकास गरिरहेको नयाँ सानो इलेक्ट्रिक एसयूभी ‘आयोनिक पी’ नाममा आउन सक्ने संकेत देखिएको छ । कम्पनीको व्यवस्थापनले आगामी मोडलको सूचीमा यो नाम उल्लेख गरेपछि एचई१आई कोडनेममा तयार भइरहेको ईभीसँग त्यसलाई जोडेर खबर आएका हुन् ।
हुन्डाई मोटरको सन् २०२६ को तेस्रो
त्रैमासिक वित्तीय नतिजासम्बन्धी २९ अक्टोबरको सम्मेलनमा भारतका लागि बेयोन र
‘आयोनिक पी’को नाम उल्लेख गरिएको थियो । हुन्डाई मोटर इन्डियाले एचई१आईको औपचारिक
नाम घोषणा गरेको छैन । सम्मेलनमा पनि यही मोडलको नाम ‘आयोनिक पी’ हो भनेर स्पष्ट
पारिएको थिएन ।
गाडी ल्याउने समयबारे भने कम्पनीको
पछिल्लो आधिकारिक विवरण स्पष्ट छ । हुन्डाई मोटर इन्डियाका प्रबन्ध निर्देशक तथा
प्रमुख कार्यकारी अधिकृत तरुण गर्गले २८ अक्टोबरमा भारतीय आर्थिक वर्ष २०२६/२७ को
चौथो त्रैमासिकमा नयाँ ईभी ल्याउने बताएका छन् । यो अवधि जनवरीदेखि मार्च २०२७
सम्म पर्छ ।
भारतीय ग्राहकलाई ध्यानमा राखेर
डिजाइन र विकास गरिएको यस मोडलको उत्पादन पनि भारतमै गर्ने योजना छ । यसमा नयाँ
पुस्ताको इन्फोटेनमेन्ट प्रणाली र चालकलाई सघाउने लेभल–२ एडास उपलब्ध हुने
कम्पनीले पुष्टि गरेको छ । कम्पनीले यस मोडलबाट आफ्नो ईभी बिक्रीको हिस्सा बढाउने
लक्ष्य राखेको छ ।
सुरुवाती गाडीमा स्वोल्टका ब्याट्री
सेल प्रयोग गरिने गर्गले बताएका छन् । कार्यक्रम ढिला हुन नदिन यस्तो व्यवस्था
गरिएको उनको भनाइ छ । त्यसपछि एक्साइडबाट भारतमै उत्पादित सेल लिने योजना रहेको छ
।
गाडीको भारतीय मूल्य, ब्याट्री
क्षमता, मोटर पावर, चार्जिङ समय र प्रमाणित रेन्जको विस्तृत विवरण सार्वजनिक हुन
बाँकी छ ।
‘आयोनिक पी’ वा अर्को नाममा आए पनि
मूल्य र सुविधा मिलेमा यो गाडी सानो ईभी खोज्ने ग्राहकका लागि थप विकल्प बन्न सक्छ
। सार्वजनिक हुनुअघि नै अटो मिडियामा चर्चा पाएको यस मोडलको आकर्षण अन्ततः मूल्य,
रेन्ज र बिक्रीपछिको सेवाले निर्धारण गर्नेछ ।
नेपालको सम्भावना हेर्दा यसअघि क्रेटा इलेक्ट्रिक भारतमा सार्वजनिक भएको करिब दुई महिनापछि नेपाली बजारमा ल्याइएको थियो । यही पृष्ठभूमिमा, नेपालमा ईभीको मागलाई सम्बोधन गर्न भारतीय बजारमा सार्वजनिक भएपछि हुन्डाई नेपालले यो सानो मोडल पनि चाँडै ल्याउन सक्ने हाम्रो अनुमान छ । यसको नेपाल आगमनबारे औपचारिक जानकारी भने आउन बाँकी छ ।