Newad1
Featured blog image

हुन्डाई आयोनिक भी चीनमा लन्च, अधिकतम रेन्ज ६५० किमि

काठमाडौं । हुन्डाईले चीनका लागि विकास गरेको नयाँ विद्युतीय सेडान आयोनिक भी औपचारिक रूपमा लन्च गरेको छ । यसको नियमित सुरुवाती मूल्य करिब १ लाख १० हजार युआन राखिएको छ भने सीमित अवधिका लागि ९९ हजार ९०० युआनको परिचयात्मक मूल्य घोषणा गरिएको चिनियाँ अटो सञ्चारमाध्यमले जनाएका छन् ।

आयोनिक भीमा ५३.५ र ६६.८ किलोवाट आवर क्षमताका दुई एलएफपी ब्याट्री विकल्प छन् । क्याटलले आपूर्ति गर्ने यी ब्याट्रीसँग १४० र १६८ किलोवाटका सिंगल मोटर उपलब्ध छन् । भेरियन्टअनुसार गाडीले ५२० देखि ६५० किलोमिटरसम्मको सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ ।

हुन्डाईको ई–जीएमपी प्लेटफर्ममा आधारित आयोनिक भीमा ८०० भोल्ट इलेक्ट्रिकल आर्किटेक्चर प्रयोग गरिएको छ । यसले उच्च क्षमताको डिसी फास्ट चार्जिङलाई सहयोग गर्छ

गाडीको क्याबिनमा २७ इन्चको फोरके डिस्प्ले र क्वालकम स्न्यापड्रागन ८२९५ चिप राखिएको छ । मोमेन्टासँग मिलेर विकास गरिएको ड्राइभर असिस्टेन्स सिस्टमले राजमार्गमा एलटू प्लस तहका सुविधा दिने बताइएको छ । आयोनिक भी ४ हजार ९०० मिलिमिटर लामो छ भने यसको ह्विलबेस २ हजार ९०० मिलिमिटर छ । प्रि–सेलका क्रममा आयोनिक भीको मूल्य १ लाख १९ हजार ९०० युआनबाट सुरु भएको थियो ।

आयोनिक भी हुन्डाईको चीन केन्द्रित रणनीतिअन्तर्गत विकास गरिएको मोडल हो । कम्पनीले चीनलाई स्थानीय बजार मात्र नभई भविष्यमा निर्यात र प्रविधि विकासको आधारका रूपमा पनि प्रयोग गर्ने योजना बनाएको छ । हुन्डाईले आगामी पाँच वर्षमा चीनमा ब्याट्री ईभी र एक्सटेन्डेड रेन्ज ईभीसहित २० नयाँ मोडल ल्याउने लक्ष्य राखेको छ ।

नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल हो । हुन्डाई नेपाली बजारमा स्थापित ब्रान्ड भए पनि आयोनिक भी नेपाल ल्याउने विषयमा हालसम्म आधिकारिक घोषणा भएको छैन ।

footer