Newad1
Featured blog image

हुन्डाईको सञ्चालन नाफा बढ्यो, वार्षिक बिक्री लक्ष्य भने घटाइयो

काठमाडौँ । हुन्डाई मोटरले सन् २०२६ को तेस्रो त्रैमासिकमा सञ्चालन नाफा बढाए पनि वार्षिक गाडी बिक्री लक्ष्य घटाएको छ । कम्पनीले यस वर्ष ४१ लाख ६० हजार गाडी बिक्री गर्ने लक्ष्यलाई संशोधन गर्दै ४० लाखमा झारेको हो ।

अक्टोबर २९ मा सार्वजनिक जुलाई–सेप्टेम्बरको वित्तीय विवरणअनुसार कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्षको समान अवधिभन्दा ५.५ प्रतिशत बढेर करिब २.७ ट्रिलियन कोरियाली वन पुगेको छ । तर आम्दानी ३.४ प्रतिशत घटेर ४५.१ ट्रिलियन वनमा सीमित भएको छ ।

सञ्चालन नाफा बढे पनि कम्पनीको खुद नाफा भने घटेको छ । तेस्रो त्रैमासिकमा खुद नाफा २४.२ प्रतिशत घटेर १.९३ ट्रिलियन वन भएको छ । अनुकूल विनिमय दर, लागत नियन्त्रण र हाइब्रिडसहितका उच्च मूल्यका गाडीको बिक्री अनुपातले सञ्चालन नाफालाई सहयोग गरेको कम्पनीले जनाएको छ ।

यस अवधिमा हुन्डाईको विश्वव्यापी थोक बिक्री ११.३ प्रतिशत घटेर ९ लाख २० हजार ७१० गाडीमा सीमित भयो । हडतालका कारण उत्पादन प्रभावित हुनु र बिदाले काम गर्ने दिन कम हुनुलाई कम्पनीले बिक्री घट्नुका कारणमा उल्लेख गरेको छ ।

कम्पनीले वार्षिक सञ्चालन नाफा मार्जिनको लक्ष्य पनि घटाएको छ । यसअघि ६.३ देखि ७.३ प्रतिशत राखिएको लक्ष्य अब ५.५ देखि ६.५ प्रतिशत कायम गरिएको छ । कमजोर विश्वव्यापी माग, उत्पादनमा अवरोध र कच्चा पदार्थको बढ्दो मूल्यलाई समेटेर वार्षिक लक्ष्य संशोधन गरिएको कम्पनीको भनाइ छ ।

हुन्डाईले यस वर्षको लगानी योजना पनि १७.८ ट्रिलियन वनबाट घटाएर १६ ट्रिलियन वन बनाएको छ । यसअघि जुलाईमा भने कम्पनीले वर्षको दोस्रो अर्धवार्षिक अवधिमा उत्पादन बढाउने र नयाँ मोडल ल्याउने अपेक्षासहित वार्षिक लक्ष्य यथावत् राखेको थियो ।

footer