आईकार भी२३ र जेइको जे६ टी किन्न चाहनेलाई थप भार, मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाली बजारमा राम्रो चर्चा बटुलिरहेका दुई विद्युतीय एसयूभी iCAR V23 र Jaecoo J6T को मूल्य वृद्धि गरिएको छ । नेपालका लागि आधिकारिक वितरक SPG Automobiles ले दुवै मोडलको नयाँ मूल्य सार्वजनिक गर्दै क्रमशः ३ लाख र १ लाख रुपैयाँले मूल्य बढाएको हो ।

कम्पनीका अनुसार यसअघि ५० लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको आईकार भी२३ अब ५३ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ । त्यसैगरी ६८ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको जेइको जे६ टीको नयाँ मूल्य ६९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

आईकार भी२३ नेपालमा सार्वजनिक भएको करिब १० महिनाको अवधिमा तेस्रो पटक मूल्य वृद्धि भएको हो । गत भदौमा बजारमा प्रवेश गर्दा यसको प्रारम्भिक मूल्य ४७ लाख ९९ हजार रुपैयाँ मात्र थियो । जेइको जे६ टीमा भने यो पहिलो मूल्य समायोजन हो ।

कम्पनीले मूल्य वृद्धि पछाडि नेपाल सरकारको हालैको बजेट वा कर संरचनाभन्दा पनि अन्तर्राष्ट्रिय बजारका कारण जिम्मेवार रहेको जनाएको छ । अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धि, मध्यपूर्व क्षेत्रमा जारी तनावका कारण बढेको ढुवानी खर्च तथा आपूर्ति श्रृंखलामा परेको प्रभावले लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको कम्पनीको भनाइ छ ।

प्राविधिक पक्ष हेर्दा आईकार भी२३मा ५९.९३ किलोवाट-आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ भने जेइको जे६ टीमा ६५.६९ किलोवाट-आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ । कम्पनीका अनुसार यी एसयूभीले क्रमशः ४०० किलोमिटर र ४३० किलोमिटरको सीएलटीसी रेन्ज प्रदान गर्छन् ।

मूल्य वृद्धि भए पनि आकर्षक डिजाइन, अफरोड क्षमताको स्वरूप र आधुनिक प्रविधिका कारण यी दुवै मोडलप्रति नेपाली ग्राहकको चासो कायमै रहेको बजार विश्लेषकहरूको भनाइ छ ।