Newad1
Featured blog image

स्कुटरको ह्यान्डल समाउँदै आम्दानीको बाटोमा १० महिला

काठमाडौं । दुईपाङ्ग्रे सवारीको ह्यान्डल समाउँदै रोजगारी र आत्मनिर्भरताको नयाँ बाटो रोजेका १० महिलाले काठमाडौंमा प्रमाणपत्र पाएका छन् । मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभहर नेपाल’ कार्यक्रमको पहिलो चरण पूरा गरेपछि उनीहरूलाई सम्मान गरिएको हो ।

तीनमहिने तालिममा सहभागी महिलाले स्कुटर चलाउने सीप मात्र सिकेनन्, सडकमा सुरक्षित रहनुपर्ने व्यवहार, आत्मरक्षा, स्वास्थ्य सचेतना र सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियाबारे पनि अभ्यास गरेका छन् । कार्यक्रमको लक्ष्य महिलालाई राइड सेवामा व्यावसायिक रूपमा अघि बढ्न सक्षम बनाउनु रहेको कम्पनीले जनाएको छ ।

गत अप्रिलबाट सुरु भएको यो कार्यक्रम विशेषगरी अवसरबाट पछाडि परेका समुदायका महिलालाई लक्षित गरिएको थियो । घरपरिवारको जिम्मेवारी, सामाजिक सोच, लाइसेन्सको पहुँच र सुरक्षासम्बन्धी चिन्ताले धेरै महिलालाई यो पेसामा आउन कठिन हुने अवस्थालाई कम गर्ने उद्देश्य यसमा राखिएको थियो ।

तालिम पूरा गरेका प्रत्येक सहभागीलाई हेल्मेट, प्राथमिक उपचार सामग्री तथा स्वास्थ्यसम्बन्धी सामग्री रहेको सुरक्षा किट दिइएको छ । फाइटब्याक नेपालसँगको सहकार्यमा आत्मरक्षा तालिम पनि सञ्चालन गरिएको थियो ।

लाइसेन्सदेखि आम्दानीसम्मको सहारा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले सडक सुरक्षा सबै चालकको साझा जिम्मेवारी भएको बताए । उनले सहभागीलाई ट्राफिक नियम पालना गर्दै अनुभवसँगै सिकाइलाई निरन्तरता दिन आग्रह गरे ।

प्रमाणपत्र वितरण समारोहमा सहभागीमध्ये एक जनालाई विद्युतीय स्कुटर, तीन जनालाई स्मार्टफोन र छ जनालाई स्मार्टवाच प्रदान गरिएको थियो । यी सामग्रीले राइड सेवामा व्यावसायिक यात्रा सुरु गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

इनड्राइभकी नेपाल ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले प्रमाणपत्र, सुरक्षा किट र मायाको चिनो हस्तान्तरण गरेकी थिइन् । समारोहमा सहभागी १० महिलाको तालिमदेखि प्रमाणपत्रसम्मको यात्रा समेटिएको भिडियो पनि देखाइएको थियो ।

इनड्राइभ साउथ एसियाकी कम्युनिकेसन म्यानेजर शेरिन एर्विना कौरका अनुसार राइड माग्ने यात्रुमा महिलाको संख्या उल्लेख्य भए पनि सेवा दिने महिला चालकको संख्या निकै कम छ । तालिम, लाइसेन्स र प्लेटफर्ममा पहुँचलाई एउटै यात्रामा जोडेर महिलालाई काममा आउन सहज बनाउने प्रयास गरिएको उनले बताइन् ।

महिला चालक बढ्दा यात्रुलाई पनि विकल्प

काठमाडौं उपत्यकाका साँघुरा सडक र गल्लीमा दुईपाङ्ग्रे राइड सेवाको उपयोगिता बढी देखिन्छ । कम भाडामा छिटो गन्तव्य पुग्न चाहने यात्रुका लागि यो सेवा उपयोगी मानिन्छ ।

महिला चालकको संख्या बढ्दा महिला यात्रुसहित सबै यात्रुले आफूलाई सहज लाग्ने चालक छनोट गर्ने विकल्प पनि पाउनेछन् । काम, पढाइ, स्वास्थ्य सेवा वा बजारसम्म आफ्नै समयअनुसार पुग्ने स्वतन्त्रता महिलाका लागि यस पहलको अर्को महत्वपूर्ण पक्ष हो ।

इनड्राइभ नेपालकी कम्युनिकेसन्स म्यानेजर मञ्जिता गुरुबले सीप विकाससँगै परिवार र समाजमा महिलाले चालक पेसा अपनाउन सक्ने सकारात्मक धारणा निर्माण गर्नु पनि उत्तिकै आवश्यक रहेको बताइन् । कम्पनीले पहिलो समूहबाट प्राप्त अनुभवका आधारमा कार्यक्रमलाई थप विस्तार गर्ने संकेत दिएको छ ।

footer