‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ भन्दै इनड्राइभको नयाँ अभियान
काठमाडौं । राइड सेवा प्रदायक इनड्राइभले नेपालमा ‘प्यासेन्जर ३६०’ अभियान सुरु गरेको छ । ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ भन्ने सन्देशसहित अघि सारिएको अभियानले यात्राअघि भाडा तय गर्ने र चालक आइपुग्ने अनुमानित समय हेरेर सवारी छान्ने व्यवस्थालाई प्राथमिकता दिएको छ ।
इनड्राइभमा यात्रुले एपमा देखाइएको
सुझाइएको भाडा हेरेर आफ्नो प्रस्ताव राख्न सक्छन् । नजिकका चालकले उक्त प्रस्ताव
स्वीकार गर्न वा अर्को रकम प्रस्ताव गर्न सक्छन् । त्यसपछि यात्रुले भाडा, चालक
आइपुग्ने अनुमानित समय, रेटिङ र सवारीका आधारमा चालक छनोट गर्छन् । यात्रा सुरु
हुनुअघि नै भाडामा सहमति हुने भएकाले तिर्नुपर्ने रकम पहिल्यै थाहा हुने कम्पनीले
जनाएको छ ।
चालकलाई पनि आफूअनुकूल अनुरोध स्वीकार
गर्ने र भाडा चित्त नबुझे अर्को प्रस्ताव राख्ने विकल्प छ । यात्रु र चालक दुवैको
सहमतिमा भाडा निर्धारण हुने यही प्रक्रियालाई अभियानले जोड दिएको छ । यात्रुले
सवारी पुष्टि गर्नुअघि चालक आइपुग्ने अनुमानित समय हेर्न सक्ने भएकाले आफ्नो
आवश्यकताअनुसार छान्न सक्ने कम्पनीको भनाइ छ ।
इनड्राइभका एसिया–प्रशान्त क्षेत्रीय
निर्देशक मार्क टोलीले काठमाडौंका यात्रुका लागि यात्राको खर्च पहिल्यै थाहा हुनु
र आवश्यक समयमा सवारी पाउनु महत्त्वपूर्ण रहेको बताएका छन् । भाडामा सहमति गर्ने
व्यवस्थाले यात्रुलाई मूल्य निर्धारणमा र चालकलाई आफ्नो आम्दानीमा भूमिका दिने
उनको भनाइ छ ।
अभियानको भिडियोमा इनड्राइभकी ब्रान्ड
एम्बासडर तथा अभिनेत्री स्वस्तिमा खड्का सहभागी छिन् । नेपाली संगीत प्रयोग गरिएको
उक्त भिडियोले यात्रु र चालकबीचको समझदारीलाई प्रस्तुत गरेको छ । खड्काले
यात्राअघि भाडा तय हुँदा यात्रा सकिएपछि रकमबारे हुन सक्ने गलत बुझाइ कम गर्न
सहयोग पुग्ने बताएकी छन् ।