Newad1
Featured blog image

नेपाल आउँदै गरेको जेटुरलाई प्रिमियम अफरोड ब्रान्ड बनाउँदै चेरी

काठमाडौं । नेपाली बजारमा प्रवेशको तयारीमा रहेको चिनियाँ एसयूभी ब्रान्ड जेटुरलाई चेरीले प्रिमियम अफरोड ब्रान्डका रूपमा अघि बढाउने भएको छ । कम्पनीको ‘ग्लोबलाइजेसन ३.०’ रणनीतिअन्तर्गत जेटुरलाई उच्चस्तरका अफरोड गाडीमा केन्द्रित गर्दै अन्तर्राष्ट्रिय बजारमा यसको पहिचान बलियो बनाउने योजना अघि सारिएको हो ।

यात्रा र पारिवारिक प्रयोगका एसयूभीबाट विस्तार भएको जेटुरले अब आराम, प्रविधि र अफरोड क्षमतालाई जोड्ने प्रिमियम सेग्मेन्टमा आफ्नो उपस्थिति बढाउँदै छ । चेरी समूहको एक्जिडले परम्परागत लक्जरी सेग्मेन्टलाई लक्षित गर्दै आएकोमा जेटुरलाई अफरोड केन्द्रित छुट्टै पहिचान दिने रणनीति छ । जेटुरको आधिकारिक वेबसाइटले पनि टी१ र टी२ हुँदै थप उच्चस्तरका अफरोड मोडलतर्फ अघि बढ्ने दिशा उल्लेख गरेको छ ।

यस दिशाको एउटा उदाहरण जेटुरको जी७०० हो । बडी–अन–फ्रेम संरचनामा बनेको यो ठूलो प्लग–इन हाइब्रिड एसयूभीले ब्रान्डको प्रिमियम अफरोड पोर्टफोलियो विस्तार गरेको छ । यद्यपि, यसको नेपाली बजार प्रवेशबारे जानकारी आएको छैन । नेपालमा अहिले चर्चामा रहेको मोडल भने टी२ हो ।

नेपालमा लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी मोटरहबले जेटुर भित्र्याउने तयारी गरिरहेको छ । हुन्डाई, बीएमडब्लू, आर्कफक्स, काइयी र फोर्थिङजस्ता ब्रान्डसँग काम गर्दै आएको समूहको अटो व्यवसाय तथा बिक्रीपछिको सेवा व्यवस्थापनको अनुभव नयाँ ब्रान्डप्रति ग्राहकको विश्वास निर्माण गर्ने आधार बन्न सक्छ ।

जेटुरलाई नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मै प्रदर्शन गर्ने योजना रहे पनि गाडी आइपुग्न भएको ढिलाइ तथा आयात मार्गमा आएको अवरोधका कारण सम्भव भएको थिएन । पछिल्ला सञ्चारमाध्यमका विवरणमा टी२ नेपाल आइपुगेको र औपचारिक लन्चअघि नै नेपाली सडकमा देखिएको उल्लेख छ । जेटुर नेपालको फेसबुक पेजमा पनि टी२ का परिचयात्मक भिडियो आउन थालेका छन् ।

सञ्चारमाध्यममा आएका विवरणअनुसार जेटुरको नेपाली बजारमा औपचारिक प्रवेश नजिकिएको बुझिन्छ । टी२ को नेपाली मूल्य, भेरियन्ट र बिक्रीपछिको सेवासम्बन्धी विस्तृत विवरण भने आधिकारिक लन्चसँगै स्पष्ट हुनेछन् ।

footer