जेटुर टी१मा प्लगइन हाइब्रिड थपियो, बिजुलीबाट १५० किमि चल्ने दाबी
काठमाडौँ । चेरीको जेटुर ब्रान्डले चीनमा टी१ सिरिजको नयाँ प्लगइन हाइब्रिड सार्वजनिक गरेको छ । चिनियाँ बजारमा ‘फ्रिडम ७ प्लस सी–डीएम’ नाममा ल्याइएको यो एसयूभीमा २६.६ किलोवाट आवरको ब्याट्री छ । कम्पनीका अनुसार यसको विद्युतीय रेन्ज सीएलटीसी परीक्षणमा १५० किमि छ । नोभेम्बर ४ मा सार्वजनिक गरिएको हाइब्रिडसँगै सिरिजमा कम मूल्यको १.५ लिटर टर्बो पेट्रोल विकल्प पनि थपिएको छ ।
प्लगइन हाइब्रिडमा १.५ लिटर टर्बो
पेट्रोल इन्जिन र हाइब्रिड प्रणालीका लागि बनाइएको सिंगल स्पिड ट्रान्समिसन छ ।
यसको पेट्रोल इन्जिनले ११५ किलोवाट पावर र २२० न्युटन मिटर टर्क दिन्छ । पेट्रोल र
बिजुली दुवै प्रयोग गर्दा कुल १ हजार ३०० किमि यात्रा गर्न सकिने कम्पनीको दाबी छ
। ब्याट्रीको चार्ज कम भएको अवस्थामा इन्धन खपत प्रति १०० किमि ५.८९ लिटर उल्लेख
गरिएको छ ।
यसमा गाडीको ब्याट्रीबाट बाहिरी
विद्युतीय उपकरण चलाउन मिल्ने सुविधा पनि छ । बाहिरका उपकरणका लागि ६.६ किलोवाट र
क्याबिनभित्र प्रयोगका लागि २.२ किलोवाटसम्म विद्युत् उपलब्ध गराउन सकिन्छ ।
अगाडिका पाङ्ग्रामा शक्ति पठाउने यो
मोडलमा १३५ किलोवाट पावर र २९० न्युटन मिटर टर्क दिने इन्जिनसँग सात स्पिडको वेट
डुअल क्लच ट्रान्समिसन जोडिएको छ ।
सिरिजमा यसअघि उपलब्ध २.० लिटर टर्बो
पेट्रोल इन्जिनयुक्त प्लस संस्करण पनि कायम छ । यसको इन्जिनले १८७ किलोवाट पावर र
३९० न्युटन मिटर टर्क दिन्छ । अल ह्विल ड्राइभ भएको यो संस्करण दुई भेरियन्टमा
उपलब्ध छ ।
नयाँ आधारभूत मोडलको लम्बाइ ४ हजार
७४९ एमएम र ह्विलबेस २ हजार ८०० एमएम छ । प्लस संस्करणको लम्बाइ ४ हजार ७९६ एमएम र
ह्विलबेस २ हजार ८१० एमएम छ । आधारभूत मोडलमा १८५ एमएम र प्लस संस्करणमा २०० एमएम
ग्राउन्ड क्लियरेन्स दिइएको छ । पछाडिका सिट समतल हुने गरी पल्टाउँदा भित्र १ हजार
९४० एमएम लामो सामान राख्ने ठाउँ बन्छ ।
क्याबिनमा १५.६ इन्चको टचस्क्रिन र
टुर ओएस प्रणाली छ । आधारभूत मोडलमा स्न्यापड्रागन ८१५५ तथा प्लस संस्करणमा ८२५५
चिप प्रयोग गरिएको छ । आवाजबाट निर्देशन दिन मिल्ने प्रणालीमा डीपसिक र आइफ्लाइटेक
स्पार्कका एआई मोडल समावेश छन् । चालक सहायता र स्वचालित पार्किङजस्ता सुविधा भने
भेरियन्टअनुसार फरक छन् ।