Newad1
Featured blog image

जेटुर ट्राभलर ७ लन्च, पेट्रोलसँगै प्लग–इन हाइब्रिड विकल्प

काठमाडौं । चेरी समूहको जेटुरले चीनमा नयाँ ट्राभलर ७ एसयूभी लन्च गरेको छ । पेट्रोल संस्करणको मूल्य १ लाख ३९ हजार ९०० देखि १ लाख ७९ हजार ९०० युआन छ भने प्लग–इन हाइब्रिडको १ लाख ५२ हजार ९०० देखि १ लाख ७२ हजार ९०० युआन तोकिएको छ ।

पेट्रोलमा १.५ र २.० लिटर टर्बो इन्जिनको विकल्प छ । यी इन्जिनले क्रमशः १३५ र १८७ किलोवाट पावर दिन्छन् । हाइब्रिडमा १.५ लिटर टर्बो इन्जिनसँग विद्युतीय मोटर जोडिएको छ ।

हाइब्रिड संस्करणमा २६.६१ र ४५.१२ किलोवाट–घण्टाका ब्याट्री उपलब्ध छन् । कम्पनीका अनुसार ब्याट्रीअनुसार यसको विद्युतीय रेन्ज सीएलटीसी परीक्षणमा १४० देखि २५१ किलोमिटरसम्म छ ।

गोलाकार हेडलाइटसहितको अफरोड शैलीमा तयार एसयूभीको लम्बाइ ४,८२७ मिमि र ह्विलबेस २,८०० मिमि छ । ग्राउन्ड क्लियरेन्स २२० मिमि रहेको गाडीको पेट्रोल संस्करणमा फोर–ह्विल ड्राइभ विकल्पसमेत छ ।

क्याबिनमा १५.६ इन्चको टचस्क्रिन र १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छन् । सुविधामा भेन्टिलेसन, हिटिङ तथा मसाजयुक्त सिट र चालक सहायता प्रणालीसमेत उल्लेख छन् । यी विवरण चीनमा लन्च भएको मोडलका हुन् ।

footer