तीन महिनापछि खुल्यो खाँदबारी–किमाथाङ्का सडक
सङ्खुवासभा । तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकमा यातायात पुनः सञ्चालन भएको छ । भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा खसेका ठूला चट्टानसहितको पहिरो हटाएपछि उत्तरी सीमावर्ती क्षेत्र जोड्ने सडक खुलेको हो ।
कात्तिक २ गते सोमबार साँझदेखि सडक
सञ्चालनमा आएको हो । गत साउनमा पहिरो खसेपछि उक्त खण्डमा सवारी आवागमन रोकिएको
थियो । लामो समय सडक बन्द हुँदा स्थानीयको आउजाउ र दैनिक उपभोग्य सामान ढुवानी
प्रभावित भएको थियो ।
सामान्य उपकरणबाट ठूला चट्टान हटाउन
नसकिएपछि उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनाको सहयोग मागेको थियो
। सेनाको नं. १ विकास निर्माण गणअन्तर्गत छुम्सुर पोस्टबाट खटिएको टोलीले विस्फोटक
पदार्थ प्रयोग गरी चट्टान टुक्र्याएको थियो । त्यसपछि आयोजनाले ढुङ्गा पन्छाएर सडक
खुलाएको हो ।
छुम्सुरको अवरुद्ध स्थान खाँदबारीबाट
करिब १४१ किलोमिटर र किमाथाङ्काबाट करिब २१ किलोमिटर दूरीमा पर्छ । भौगोलिक विकटता
र ठूला चट्टानका कारण अवरोध हटाउन कठिन भएको थियो ।
यो खण्ड खुलेसँगै खाँदबारीबाट
किमाथाङ्कातर्फको सडक सम्पर्क पुनः जोडिएको छ । सडक आयोजना कार्यालयले अन्य खण्डमा
पनि नियमित मर्मतसम्भार गर्दै यातायात सञ्चालन गरिरहेको जनाएको छ । स्रोत:
रासस