Newad1
Featured blog image

कीर्तिपुर क्रिकेट मैदान पुग्ने १.५ किलोमिटर सडक कालोपत्र गर्न बोलपत्र

काठमाडौं । काठमाडौं सडक डिभिजनले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुग्ने करिब १.५ किलोमिटर पहुँच सडक कालोपत्र गर्न बोलपत्र आह्वान गरेको छ । मुख्य सडकबाट मैदान जोड्ने सडक स्तरोन्नतिका लागि करिब ६ करोड ९८ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

हाल यी सडक कच्ची हुँदा धुलोले खेलाडी र दर्शकलाई मैदानसम्म आउजाउ गर्न असहज भइरहेको छ । कालोपत्रको काम भने ठेक्का प्रक्रियामै छ । निर्माण कम्पनी छनोट र सम्झौता हुन बाँकी छ ।

काठमाडौं सडक डिभिजनका प्रमुख सुबोधकुमार देवकोटाका अनुसार निर्माण कम्पनीहरूले अक्टोबर २९ सम्म बोलपत्र बुझाउनुपर्नेछ । त्यसपछि प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकन गरेर १५ देखि २० दिनभित्र निर्माण सम्झौता गर्ने लक्ष्य छ ।

छनोट हुने निर्माण कम्पनीले सम्झौता भएको मितिले तीन महिनाभित्र कालोपत्र सम्पन्न गर्नुपर्नेछ । त्यसैले निर्माणको तीनमहिने अवधि बोलपत्र आह्वान भएको दिनबाट नभई सम्झौतापछि गणना हुनेछ ।

स्थायी काम अघि बढ्न बाँकी रहँदा धुलो नियन्त्रणका लागि सडकमा पानी छर्किने व्यवस्था गरिएको छ । आवागमन सहज बनाउन ग्राभेल पनि बिछ्याइएको छ ।

footer