काठमाडौंबाट बाहिरिँदै हुनुहुन्छ ? जान्नुहोस् वैकल्पिक रुट
काठमाडौं । काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने तयारीमा रहेका यात्रुले गाडी चढ्नुअघि रुटको पछिल्लो अवस्था बुझ्नुपर्ने भएको छ । बाढी र पहिरोले मुख्य सडकसँगै वैकल्पिक बाटोसमेत प्रभावित बनाउन थालेपछि यात्रा थप कठिन बनेको हो ।
धादिङको कृष्णभीरमा त्रिशूली नदीले तलबाट कटान गर्दा करिब २० मिटर सडक क्षतिग्रस्त भएको छ । आधाभन्दा बढी भाग भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित बनेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ठूला सवारीसाधनलाई नौबिसे–पालुङ–भैँसे–हेटौँडा हुँदै सञ्चालन गर्ने व्यवस्था मिलाएको छ । साना सवारीसाधन तथा माइक्रोबसले भने फर्पिङको बाटो प्रयोग गर्न सक्नेछन् ।
पहिरोले बन्द भएको कान्तिलोकपथ खुलाउने काम पनि भइरहेको छ । सडक सञ्चालनमा आएपछि साना सवारीका लागि अर्को विकल्प उपलब्ध हुनेछ ।
सडक विभागले कृष्णभीरमा भएको क्षति अध्ययन गर्न विज्ञ टोली पठाएको छ । स्थलगत अध्ययनपछि सडक मर्मत तथा पुनर्निर्माणको काम अघि बढाइने विभागले जनाएको छ ।
मनसुनका कारण सडकको अवस्था छोटो समयमै परिवर्तन हुन सक्ने भएकाले यात्राअघि ट्राफिक प्रहरी, स्थानीय प्रशासन वा सम्बन्धित निकायबाट जानकारी लिन आग्रह गरिएको छ ।