Newad1
Featured blog image

कुसुन्तीको आकाशे पुलमा लिफ्ट, सिँढी चढ्न कठिन हुनेलाई सहज हुने अपेक्षा

ललितपुर । कुसुन्ती हाइटमा निर्माणाधीन लिफ्टसहितको आकाशे पुल छठअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । निर्माण अन्तिम चरणमा पुगे पनि सर्वसाधारणका लागि खुला गर्ने निश्चित मिति भने सार्वजनिक भएको छैन ।

ललितपुर महानगरपालिका–१३ को चक्रपथ क्षेत्रमा बनिरहेको पुलमा दुवैतर्फ लिफ्टको व्यवस्था छ । सञ्चालनमा आएपछि सिँढी चढ्न कठिन हुने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बिरामीलाई सडक वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ । बालबालिकासहित हिँड्ने पैदलयात्रीलाई पनि यसले सुविधा दिनेछ ।

चार करोड ६८ लाख रुपैयाँ लागतको यो पुल निर्माण २०८० फागुनमा सुरु भएको थियो । सम्झौताअनुसार एक वर्षभित्र काम सक्ने लक्ष्य थियो । तर प्राविधिक समस्या र निर्माण प्रक्रियाका जटिलताले काम निर्धारित समयभन्दा लम्बिएको हो ।

व्यस्त चक्रपथमा पैदलयात्रीलाई सवारीको बीचबाट सडक पार गर्नुपर्ने अवस्था कम गर्नु पुल निर्माणको मुख्य उद्देश्य हो । दुवैतर्फ लिफ्ट राखिएकाले सिँढी प्रयोग गर्न नसक्ने नागरिकले पनि पुलबाटै सडक पार गर्न सक्नेछन् ।

हाल पुल निर्माणकै चरणमा छ । छठ आसपास सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि प्रयोगका लागि खुला हुने दिन भने तय हुन बाँकी छ ।

footer