बी०३एक्सको चाबी ग्राहकलाई, डेलिभरी सुरु
काठमाडौँ । लिपमोटरको इलेक्ट्रिक एसयूभी बी०३एक्सको नेपालमा डेलिभरी सुरु भएको छ । नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले प्रारम्भिक बुकिङ गरेका पहिलो चरणका ग्राहकलाई गाडी हस्तान्तरण गरेको जनाएको छ ।
काठमाडौँमा सडक परीक्षण र औपचारिक
रूपमा सार्वजनिक गरिएपछि कम्पनीले बी०३एक्सको डेलिभरी थालेको हो । यसको
प्रोम्याक्स भेरियन्टको नियमित मूल्य ४६ लाख ९९ हजार रुपैयाँ छ । कम्पनीले पहिलो
१०० ग्राहकका लागि भने ४४ लाख ९९ हजार रुपैयाँको लन्च मूल्य घोषणा गरेको थियो ।
बी०३एक्समा १४५ किलोवाट क्षमताको मोटर
र ५३ किलोवाट आवरको ब्याट्री छ । कम्पनीले एकपटक पूरा चार्ज गर्दा सीएलटीसी
परीक्षण पद्धतिअनुसार ५०५ किलोमिटरसम्म रेन्ज दिने दाबी गरेको छ ।
चार्जिङतर्फ यसले डीसी फास्ट चार्जिङ
सपोर्ट गर्छ । कम्पनीका अनुसार उपयुक्त फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीको
चार्ज ३० देखि ८० प्रतिशत पुर्याउन १६ मिनेट लाग्छ ।
गाडीको भित्री भागमा १४.६ इन्चको
टचस्क्रिन र १२ वटा स्पिकरसहितको साउन्ड सिस्टम छ । चालकलाई सघाउने लेभल २ एडास
प्रणाली पनि समावेश गरिएको छ । यसअन्तर्गत सवारीको गति र लेन कायम राख्न सहयोग गर्ने
तथा सम्भावित ठक्करको अवस्थामा चेतावनी दिने सुविधा उपलब्ध छन् ।
बी०३एक्सको ग्राउन्ड क्लियरेन्स १९०
मिमि छ । सामान राख्न पछाडिको बुटमा ५१० लिटर ठाउँ उपलब्ध छ । पछाडिका सिट मोड्दा
यो ठाउँ बढेर १ हजार ६०५ लिटरसम्म पुग्छ ।
सांग्रिला मोटर्सका निर्देशक हेमन्त
गोल्छाले सुरुवातदेखि ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाएको बताउँदै बुकिङ गरेका
ग्राहकलाई गाडी हस्तान्तरणको चरणमा पुगेको बताए । उनले गाडीको प्रतीक्षामा रहेका
अन्य ग्राहकलाई पनि छिटो र सहज रूपमा डेलिभरी दिने गरी कम्पनीले काम गरिरहेको
जानकारी दिए ।
मासेराती, अल्फा रोमियो र प्युजोसहित
१४ अटोमोबाइल ब्रान्ड रहेको स्टेलान्टिससँगको साझेदारीमा लिपमोटरले
अन्तर्राष्ट्रिय व्यवसाय विस्तार गरिरहेको छ । चिनियाँ विद्युतीय सवारी निर्माता
लिपमोटरको विश्वव्यापी डेलिभरी सन् २०२६ को अक्टोबरसम्म १९ लाखभन्दा बढी पुगेको छ
। सोही वर्ष जुलाईदेखि अक्टोबरसम्म लगातार चार महिना कम्पनीले मासिक एक लाखभन्दा
बढी गाडी डेलिभरी गरेको छ । सांग्रिला मोटर्सका अनुसार लिपमोटरको सञ्जाल ४५ भन्दा
बढी देशमा फैलिएको छ, जहाँ दुई हजारभन्दा बढी बिक्री तथा सेवा केन्द्र सञ्चालनमा
छन् ।