Newad1
Featured blog image

लिपमोटरको नयाँ रेकर्ड, अक्टोबरमा १ लाख ६ हजार गाडी डेलिभरी

काठमाडौँ । चिनियाँ सवारी उत्पादक लिपमोटरले सन् २०२६ को अक्टोबरमा विश्वभर १ लाख ६ हजार १२७ गाडी डेलिभरी गर्दै नयाँ मासिक रेकर्ड बनाएको छ । कम्पनीले लगातार चौथो महिना एक लाखभन्दा बढी गाडी डेलिभरी गरेको हो ।

जनवरीदेखि अक्टोबरसम्म कम्पनीको कुल डेलिभरी ७ लाख ७२ हजार ६६६ पुगेको छ । यो गत वर्षको समान अवधिभन्दा ६५.८८ प्रतिशत बढी हो । यससँगै लिपमोटरले यस वर्षका लागि तय गरेको १० लाख गाडी डेलिभरीको लक्ष्य ७७.२७ प्रतिशत पूरा गरेको छ ।

अक्टोबरको डेलिभरी गत वर्षको सोही महिनाभन्दा ५०.९९ प्रतिशत बढेको छ । अघिल्लो महिना सेप्टेम्बरको तुलनामा भने ४७१ गाडी अर्थात् ०.४५ प्रतिशत वृद्धि भएको हो । सेप्टेम्बरमा मासिक वृद्धि २.४५ प्रतिशत र वार्षिक वृद्धि ५८.५१ प्रतिशत थियो ।

वार्षिक लक्ष्य पूरा गर्न कम्पनीले नोभेम्बर र डिसेम्बरमा थप २ लाख २७ हजार ३३४ गाडी डेलिभरी गर्नुपर्नेछ । यसका लागि मासिक औसत १ लाख १३ हजार ६६७ गाडी आवश्यक पर्छ । यो अक्टोबरको डेलिभरीभन्दा करिब ७.१ प्रतिशत बढी हो । लक्ष्य भेट्न बाँकी दुई महिनाको औसत डेलिभरी अहिलेको मासिक रेकर्डभन्दा माथि पुर्‍याउनुपर्ने देखिन्छ ।

लिपमोटरले अन्तर्राष्ट्रिय बजारमा उत्पादन र बिक्री विस्तारलाई पनि अघि बढाइरहेको छ । अक्टोबरमा स्पेनको जारागोजा कारखानामा बी१० को उत्पादन सुरु भएको कम्पनीले जनाएको छ । विदेशमा यसको व्यवसाय विस्तार स्टेलान्टिससँगको संयुक्त कम्पनी लिपमोटर इन्टरनेसनलमार्फत भइरहेको छ, जसमा स्टेलान्टिसको ५१ प्रतिशत हिस्सा छ ।

अक्टोबर अन्त्यसम्म लिपमोटरको स्थापनादेखिको विश्वव्यापी डेलिभरी १९ लाख नाघेको छ । कम्पनीले नोभेम्बरमा आफ्नो २० लाखौँ गाडी उत्पादन गर्ने अपेक्षा गरेको छ ।

नेपालमा लिपमोटरको आधिकारिक आयातकर्ता तथा वितरक सांग्रिला मोटर्स प्रालि हो । कम्पनीले नेपाली बजारमा टी०३ ह्याचब्याक तथा सी१०, बी१० र बी०३एक्स एसयूभी बिक्री गरिरहेको छ । नेपाली बजारमा पनि विशेषगरी बी०३एक्स र बी१० प्रति ग्राहकको प्रतिक्रिया राम्रो पाएको कम्पनीले जनाएको छ ।

footer