महिन्द्राको समग्र अटो बिक्री १ लाख ३१ हजार, निर्यात ७७ प्रतिशत बढ्यो
काठमाडौँ । महिन्द्रा एन्ड महिन्द्राले सन् २०२६ को अक्टोबरमा भारतभित्र ७३ हजार ३३८ एसयूभीको थोक बिक्री गर्दै मासिक बिक्रीमा नयाँ रेकर्ड बनाएको छ । अघिल्लो वर्षको सोही महिनामा ७१ हजार ६२४ एसयूभी बिक्री गरेको कम्पनीको यसपटक बिक्री २ प्रतिशत बढेको हो । निर्यातसमेत जोड्दा अक्टोबरमा महिन्द्राको एसयूभी बिक्री ७४ हजार ९०४ पुगेको छ ।
एसयूभी, हलुका व्यावसायिक सवारी,
तीनपाङ्ग्रे र निर्यात समेटिएको समग्र अटो बिक्री १ लाख ३१ हजार १०९ पुगेको छ । यो
अघिल्लो वर्षको अक्टोबरभन्दा ९ प्रतिशत बढी हो । कम्पनीको कुल अटो निर्यात ४ हजार
१५ बाट ७ हजार १०२ पुगेको छ, जुन ७७ प्रतिशतको वृद्धि हो । अटोमोटिभ व्यवसाय
प्रमुख आर भेलुसामीले चाडपर्वको माग र अद्यावधिक मोडलहरूले एसयूभी, पिकअप तथा
तीनपाङ्ग्रेको बिक्रीलाई सहयोग गरेको बताएका छन् ।
भारतभित्र हलुका व्यावसायिक
सवारीको बिक्री ४ प्रतिशत बढेर ३३ हजार ३७ पुगेको छ । यसमा २ देखि ३.५ टन समूहका
सवारी २८ हजार ६५४ छन्, जुन ५ प्रतिशतको वृद्धि हो । दुई टनभन्दा कम समूहको बिक्री
भने ४ प्रतिशत घटेर ४ हजार ३८३ मा सीमित भएको छ । विद्युतीय मोडलसमेत समावेश भएको
तीनपाङ्ग्रे बिक्री ३८ प्रतिशत बढेर १७ हजार ६३२ पुगेको छ ।
छुट्टै ट्रक तथा बस व्यवसायको
निर्यातसहितको बिक्री ४० प्रतिशत बढेर २ हजार ८३८ पुगेको छ । यसमा महिन्द्रा ट्रक
एन्ड बस डिभिजन र एसएमएल महिन्द्राका ३.५ टनभन्दा माथिका व्यावसायिक सवारी समावेश
छन् । मालवाहक सवारी बिक्री ६२ प्रतिशत बढेर २ हजार ३६ र यात्रुवाहक सवारी बिक्री
३ प्रतिशत बढेर ८०२ पुगेको छ । महिन्द्रा ट्रक एन्ड बस डिभिजनले १ हजार ७७३ र
एसएमएल महिन्द्राले १ हजार ६५ सवारी बिक्री गरेका छन् । वार्षिक वृद्धि क्रमशः ८२
र १ प्रतिशत छ । ट्रक–बसको यो संख्या माथि उल्लेखित समग्र अटो बिक्रीमा समावेश छैन
।
अप्रिलदेखि अक्टोबरसम्मको सात
महिनामा महिन्द्राले भारतभित्र ४ लाख ३१ हजार ४८० एसयूभी बिक्री गरेको छ । अघिल्लो
वर्षको समान अवधिमा यो संख्या ३ लाख ६९ हजार १९४ थियो । यसअनुसार सञ्चित एसयूभी
बिक्री १७ प्रतिशत बढेको छ । यही अवधिमा कम्पनीको कुल अटो निर्यात ५३ प्रतिशत बढेर
३७ हजार १३३ पुगेको छ भने ट्रक तथा बस व्यवसायको बिक्री २४ प्रतिशत बढेर २० हजार
६४३ पुगेको छ ।
नेपालमा महिन्द्राका एसयूभी तथा
पिकअपको आधिकारिक वितरण अग्नि इन्कर्पोरेटेडले गर्दै आएको छ । स्कर्पियो एन,
एक्सयूभी ७०० तथा बोलेरो परिवारका सवारी नेपाली बजारमा उपलब्ध छन् । अग्नि समूहको
देशभर ८० भन्दा बढी डिलर तथा शाखाको सञ्जाल छ । सवारी बिक्रीसँगै समूहको सञ्जालबाट
मर्मतसम्भार र पार्टपुर्जाको सेवा पनि उपलब्ध हुँदै आएको छ ।