Newad1
Featured blog image

नयाँ डिजाइन र फिचरसहित आउँदै महिन्द्रा थार फेसलिफ्ट

काठमाडौं । महिन्द्रा एन्ड महिन्द्राले ३–डोर थारको अपडेटेड संस्करण ल्याउने तयारी गर्दै नयाँ टिजर सार्वजनिक गरेको छ । कम्पनीले मोडल र सार्वजनिक मिति स्पष्ट नखुलाए पनि भारतीय अटो सञ्चारमाध्यमले नयाँ थार सेप्टेम्बर २२ मा सार्वजनिक हुन सक्ने जनाएका छन् ।

महिन्द्राले सामाजिक सञ्जालमा ‘कमिङ सुन टु अ रियर–भ्यु मिरर नियर यु’ सन्देशसहित सार्वजनिक गरेका टिजरमा गाडीको पूरा डिजाइन देखाइएको छैन । टिजरले यसको अफरोड चरित्र र अगाडिको भागमा हुन सक्ने डिजाइन परिवर्तनको संकेत भने दिएको छ । महिन्द्रा थारको आधिकारिक सामाजिक सञ्जाल पोस्ट र इकोनोमिक टाइम्सको रिपोर्ट मा यसलाई नयाँ ३–डोर थारसँग जोडिएको छ ।

परीक्षणका क्रममा देखिएका गाडी र विभिन्न रिपोर्टअनुसार यसको ग्रिल, बम्पर, लाइट र अलोय ह्विलको डिजाइन परिमार्जन हुन सक्छ । क्याबिनमा ठूलो टचस्क्रिन, रियर क्यामेरा, वायरलेस चार्जिङ र सुविधाजन्य फिचर थपिने अपेक्षा गरिएको छ । यी फिचर र अन्तिम भेरियन्ट विवरण भने महिन्द्राले आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन ।

इन्जिन विकल्पमा ठूलो परिवर्तन नहुने र हाल उपलब्ध १.५ लिटर डिजेल, २.२ लिटर डिजेल तथा २.० लिटर टर्बो पेट्रोल इन्जिनलाई निरन्तरता दिइने अनुमान छ । म्यानुअल तथा अटोमेटिक गियरबक्ससँगै रियर–ह्विल ड्राइभ र फोर–ह्विल ड्राइभ विकल्प रहने सम्भावना पनि छ । नयाँ थारको मूल्य, भेरियन्ट र पूर्ण स्पेसिफिकेसन सार्वजनिक भएपछि मात्रै यी विवरण निश्चित हुनेछन् ।

थार नेपालमा समेत परिचित लाइफस्टाइल एसयूभी हो । भारतमा नयाँ संस्करण सार्वजनिक भए पनि यसको नेपाल आगमन, मूल्य र उपलब्धताबारे अहिलेसम्म औपचारिक घोषणा भएको छैन ।

footer