Newad1
Featured blog image

एक महिनामा २ लाख ७६ हजार गाडी बेच्दै मारुती सुजुकीले बनायो नयाँ रेकर्ड

काठमाडौँ । मारुती सुजुकीले सन् २०२६ को अक्टोबरमा २ लाख ७६ हजार १२० गाडी बिक्री गर्दै अहिलेसम्मकै उच्च मासिक बिक्री रेकर्ड बनाएको छ । अघिल्लो वर्षको अक्टोबरमा २ लाख २० हजार ८९४ गाडी बिक्री गरेको कम्पनीको कारोबार यसपटक संख्याका आधारमा २५ प्रतिशत बढेको हो ।

कम्पनीले सार्वजनिक गरेको बिक्री विवरणअनुसार भारतको घरेलु बजारमा यात्रुवाहक र हलुका व्यावसायिक सवारीको संयुक्त बिक्री पनि २ लाख १६ हजार ७८९ पुगेर मासिक रेकर्ड बनेको छ । यसमा यात्रुवाहक गाडी २ लाख १२ हजार ३८४ र हलुका व्यावसायिक सवारी ४ हजार ४०५ छन् । यसबाहेक कम्पनीले अन्य सवारी उत्पादकलाई ९ हजार ४५९ गाडी आपूर्ति गरेको छ ।

घरेलु यात्रुवाहक बजारमा युटिलिटी समूहको बिक्री २६.१ प्रतिशत बढेर ९७ हजार ७८७ पुगेको छ । अघिल्लो वर्ष यही समूहमा ७७ हजार ५७१ गाडी बिक्री भएका थिए । ब्रेजा, फ्रङ्क्स, ग्रान्ड भिटारा, जिम्नी र अर्टिगालगायत मोडल समेटिएको यस समूहले कम्पनीको घरेलु यात्रुवाहक बिक्रीको करिब ४६ प्रतिशत हिस्सा ओगटेको छ ।

मिनी, कम्प्याक्ट र मिडसाइज कारको संयुक्त बिक्री भने १८.४ प्रतिशत बढेर १ लाख ८७७ पुगेको छ । अघिल्लो वर्ष यो संख्या ८५ हजार २१० थियो । अल्टो, बलेनो, सेलेरियो, डिजायर, स्विफ्ट र वागनआरलगायत मोडल यस समूहमा पर्छन् । इको भ्यानको बिक्री १३ हजार ५३७ बाट बढेर १३ हजार ७२० पुगेको छ ।

निर्यातमा घरेलु बजारभन्दा उच्च वृद्धिदर देखिएको छ । कम्पनीले अक्टोबरमा ४९ हजार ८७२ गाडी निर्यात गरेको छ, जुन अघिल्लो वर्षको ३१ हजार ३०४ भन्दा ५९.३ प्रतिशत बढी हो । कुल मासिक बिक्रीमा निर्यातको हिस्सा करिब १८ प्रतिशत पुगेको छ ।

अप्रिलदेखि अक्टोबरसम्मको सात महिनामा मारुती सुजुकीको कुल बिक्री १६ लाख ५५ हजार ४९८ पुगेको छ । अघिल्लो वर्षको समान अवधिमा १२ लाख ९९ हजार ६२९ गाडी बिक्री भएकोमा यसपटक २७.४ प्रतिशत वृद्धि भएको हो ।

नेपालमा मारुती सुजुकीका गाडी सीजी मोटोकर्पले बिक्री गर्दै आएको छ । यहाँ उपलब्ध स्विफ्ट, बलेनो, ब्रेजा, फ्रङ्क्स, ग्रान्ड भिटारा र इकोलगायत मोडल कम्पनीको यही बिक्री विवरणमा समावेश समूहमा पर्छन् ।

footer