Newad1
Featured blog image

म्याक्सस ई–डेलिभर ५ नेपालमा, मूल्य ६९ लाख ५० हजार

काठमाडौं । होटल तथा पर्यटन व्यवसायको यात्रु ओसारपसार र व्यावसायिक यातायातलाई लक्षित गर्दै नेपालमा म्याक्ससको ‘ई–डेलिभर ५’ विद्युतीय मिनिबस ल्याइएको छ । म्याक्ससको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय मोटोक्स प्रालिले १६ सिट क्षमताको यो गाडीको मूल्य ६९ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

यस मिनिबसमा ६४ किलोवाट आवरको सीएटीएल ब्याट्री र १२० किलोवाटको मोटर रहेको कम्पनीले जनाएको छ । मोटरले २४० न्युटन मिटर टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार एनईडीसी परीक्षणमा यसको रेन्ज अधिकतम ४०० किलोमिटर छ । यो परीक्षणमा आधारित दाबी हो ।

चार्जिङका लागि गाडीले ७० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ समर्थन गर्छ । उपयुक्त चार्जिङ सुविधामा ब्याट्रीको चार्ज २० प्रतिशतबाट ८० प्रतिशत पुर्‍याउन ३६ मिनेट लाग्ने कम्पनीको भनाइ छ । ब्याट्रीमा आठ वर्ष र मोटरमा पाँच वर्षको वारेन्टी दिइएको छ ।

चालकलाई सहयोग गर्ने सुविधामा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, अगाडिको सम्भावित ठक्करबारे चेतावनी दिने प्रणाली, एडाप्टिभ क्रुज कन्ट्रोल तथा लेनसम्बन्धी चेतावनी र सहायता प्रणाली समावेश छन् । कम्पनीले चालकको अवस्था निगरानी गर्ने प्रणाली, ३६० डिग्री क्यामेरा, अगाडिका यात्रुका लागि एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ पनि उपलब्ध रहेको जनाएको छ ।

क्याबिनमा १२.३ इन्चको टचस्क्रिन छ, जसले ब्लुटुथ, यूएसबी, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो समर्थन गर्छ । स्टेरिङ चार तहमा मिलाउन सकिन्छ । गाडीको ग्राउन्ड क्लियरेन्स २०० मिलिमिटर रहेको छ भने एलोय ह्विल दिइएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, निर्देशक आकाश गोल्छा र प्रबन्ध निर्देशक सौरभ थापाले संयुक्त रूपमा मिनिबस सार्वजनिक गरेका हुन् । हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोटोक्सले बिक्री गर्ने म्याक्ससको शोरुम काठमाडौंको हात्तीसारमा छ ।

footer