भारतमै पहिलो मल्टि–एनईभी प्लेटफर्म दाबी, एमजीले गर्यो ‘एडाप्ट’ सार्वजनिक
काठमाडौं । जेएसडब्लु एमजी मोटर इन्डियाले आफ्नो आगामी पुस्ताका नयाँ ऊर्जा सवारीसाधनका लागि विकसित गरिएको ‘एमजी एडाप्ट (एडभान्स ड्राइभ आर्किटेक्चर प्लेटफर्म टेक्नोलोजी)’ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई भारतकै पहिलो मल्टि–न्यु इनर्जी भेहिकल (एनईभी) प्लेटफर्म भएको दाबी गरेको छ, जसले एउटै संरचनामा विभिन्न प्रकारका विद्युतीय तथा हाइब्रिड प्रविधिका सवारी निर्माण गर्न सक्ने क्षमता राख्छ ।
पछिल्ला केही सातादेखि भारतीय सडकमा परीक्षणका क्रममा देखिएका एमजी स्टारलाइटमा आधारित ईभी र प्लग–इन हाइब्रिड (पीएचईभी) एसयूभी सार्वजनिक हुने अपेक्षा गरिएको थियो । तर कम्पनीले अहिले नयाँ मोडलभन्दा पनि ती सबै भविष्यका उत्पादनको आधार बन्ने प्लेटफर्मलाई पहिलोपटक सार्वजनिक गर्दै आफ्नो दीर्घकालीन रणनीतिको संकेत दिएको हो ।
कम्पनीका अनुसार एडाप्ट प्लेटफर्ममा इलेक्ट्रिक भेहिकल (ईभी), हाइब्रिड इलेक्ट्रिक भेहिकल (एचईभी), प्लग–इन हाइब्रिड इलेक्ट्रिक भेहिकल (पीएचईभी) तथा रेन्ज एक्सटेन्डर इलेक्ट्रिक भेहिकल (आरईईभी) गरी चार फरक प्रकारका पावरट्रेनलाई एउटै संरचनामा समायोजन गर्न सकिन्छ । यसले फरक–फरक प्लेटफर्म विकास गर्नुपर्ने आवश्यकता घटाउँदै उत्पादन विकासलाई अझ छिटो, प्रभावकारी र लागत–अनुकूल बनाउने कम्पनीको विश्वास छ ।
एमजीले आर्थिक वर्ष २०२६–२७ भित्र यही प्लेटफर्ममा आधारित पहिलो ईभी र पीएचईभी मोडल सार्वजनिक गर्ने पुष्टि गरेको छ । हाल परीक्षणमा रहेका स्टारलाइट परिवारका एसयूभीहरू नै यसको पहिलो उत्पादन बन्ने सम्भावना बलियो देखिएको छ ।
कम्पनीका अनुसार नयाँ प्लेटफर्मले ड्राइभिङ रेन्ज, चार्जिङ गति, ऊर्जा दक्षता, कार्यसम्पादन, सवारीको परिष्कृत अनुभव तथा सुरक्षामा सुधार ल्याउने लक्ष्य राखेको छ । साथै एउटै आधारमा विभिन्न पावरट्रेन विकास गर्न सकिने भएकाले नयाँ मोडल बजारमा ल्याउने समयसमेत घट्ने अपेक्षा गरिएको छ ।
एडाप्ट प्लेटफर्मको अर्को महत्वपूर्ण पक्ष यसको समर्पित हाइब्रिड प्रणाली हो । यसमा विशेष रूपमा विकास गरिएको हाइब्रिड पेट्रोल इन्जिन, समर्पित ब्याट्री प्याक, भारतकै पहिलो १०–इन–१ इन्टेलिजेन्ट इलेक्ट्रिक ड्राइभ युनिट तथा कम्पनीले विश्वकै पहिलो भएको दाबी गरेको इलेक्ट्रोम्याग्नेटिक डेडिकेटेड हाइब्रिड ट्रान्समिसन समावेश गरिएको छ । यी सबै प्रणालीलाई इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्ट सिस्टम ले सञ्चालन गर्नेछ ।
यो प्रणालीले सडकको अवस्था र सवारीको आवश्यकता अनुसार स्वचालित रूपमा चार फरक मोडमा काम गर्ने कम्पनीले जनाएको छ । सहरी यात्रामा सवारी पूर्ण रूपमा विद्युतीय शक्तिबाट चल्ने प्योर इलेक्ट्रिक ड्राइभ, इन्जिनले विद्युत उत्पादन गर्ने र मोटरले पाङ्ग्रा चलाउने सिरिज हाइब्रिड ड्राइभ, इन्जिन र मोटर दुवैले संयुक्त रूपमा शक्ति दिने प्यारालल हाइब्रिड ड्राइभ, तथा लामो दूरीको राजमार्ग यात्राका लागि इन्जिनले प्रत्यक्ष रूपमा शक्ति प्रवाह गर्ने इन्जिन डाइरेक्ट ड्राइभ मोड उपलब्ध हुनेछन् ।
यस प्लेटफर्मले रेन्ज एक्सटेन्डर इलेक्ट्रिक भेहिकल (आरईईभी) प्रविधिलाई पनि समर्थन गर्नेछ । यस प्रविधिमा सवारी सधैँ विद्युतीय मोटरबाट नै चल्नेछ भने पेट्रोल इन्जिनले केवल ब्याट्री चार्ज गर्न जेनेरेटरको भूमिका खेल्नेछ । यसले पूर्ण विद्युतीय सवारीको अनुभव कायम राख्दै लामो दूरीको यात्रामा रेन्ज बढाउने र चार्जिङ पूर्वाधारको अभावबाट हुने चिन्ता कम गर्ने कम्पनीको दाबी छ ।
एमजी मोटर इन्डियाका प्रबन्ध निर्देशक अनुराग मेहरोत्राले ग्राहकलाई आफ्नो आवश्यकता अनुसार ऊर्जा प्रविधि छनोट गर्ने स्वतन्त्रता दिनु कम्पनीको उद्देश्य रहेको बताए । उनका अनुसार कार्यसम्पादन, दक्षता वा प्रयोग अनुभवमा कुनै सम्झौता नगरी भविष्यका सबै नयाँ ऊर्जा सवारीसाधनको आधार यही एडाप्ट प्लेटफर्म बन्नेछ ।
हालसम्म कम्पनीले नयाँ उत्पादनको नाम वा विस्तृत विवरण सार्वजनिक नगरे पनि हालै देखिएका स्टारलाइटमा आधारित परीक्षण मोडल र नयाँ प्लेटफर्म घोषणालाई हेर्दा एमजीले निकट भविष्यमै भारतमा आफ्नो नयाँ पुस्ताका ईभी र पीएचईभी एसयूभी सार्वजनिक गर्ने तयारी तीव्र बनाएको स्पष्ट संकेत दिएको छ ।