Newad1
Featured blog image

एमजी टमहकमा मूल्यसँगै के–के सुविधा पाइन्छ ?

काठमाडौं । सात सिट क्षमताको एमजी हेक्टर टमहक ईभी नेपाली बजारमा बिक्रीका लागि उपलब्ध भएको छ । जेएसडब्लू एमजी मोटर इन्डियाको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले शनिबार, अक्टोबर १० मा यसको मूल्य घोषणा गर्दै बिक्री सुरु गरेको हो ।

टमहकको नियमित मूल्य ६१ लाख ९९ हजार रुपैयाँ राखिएको छ । तर पहिलो ५० ग्राहकले ५७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न पाउने कम्पनीले जनाएको छ । यो सुरुवाती मूल्य नियमित मूल्यभन्दा चार लाख रुपैयाँ कम हो । यसअघि बुकिङ खुलाइएको गाडीको मूल्य तय भएसँगै बुकिङ गरेका ग्राहकलाई डेलिभरी दिने प्रक्रिया पनि अघि बढ्नेछ ।

यसमा ६९.२ किलोवाट आवरको ब्याट्री र १५० किलोवाटको मोटर दिइएको छ । मोटरले ३१० न्युटन मिटर टर्क उत्पादन गर्छ । कम्पनीले एकपटक पूरा चार्ज गर्दा ५१७ किलोमिटरसम्म रेन्ज दिने दाबी गरेको छ ।

चार्जिङका लागि टमहकले ९० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । कम्पनीका अनुसार उपयुक्त चार्जरबाट ब्याट्री ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म पुर्‍याउन ३५ मिनेट लाग्छ । गाडीको ब्याट्रीबाट घरमा विद्युत् आपूर्ति गर्न सकिने भेहिकल टु होम सुविधा पनि समावेश गरिएको छ ।

तीन पङ्क्तिमा सिट रहेको टमहकको ग्राउन्ड क्लियरेन्स २३० एमएम र ह्वीलबेस २,८१० एमएम छ । क्याबिनमा १५.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, ८.८ इन्चको डिजिटल ड्राइभर डिस्प्ले तथा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले उपलब्ध छन् । अगाडिका दुवै सिटमा भेन्टिलेसन र विद्युतीय रूपमा मिलाउन सकिने सुविधा दिइएको छ ।

सुरक्षातर्फ ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड असिस्ट र टायर प्रेसर मोनिटरिङ सिस्टम छन् । पार्किङका लागि अगाडि–पछाडि सेन्सर र ३६० डिग्री क्यामेरा उपलब्ध छन् भने चारै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

footer