हिंसा होइन संवाद रोज्न नाडाको आग्रह, सरकारलाई पनि विशेष अनुरोध
काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न स्थानमा देखिएका घटनाक्रमले सामाजिक सद्भाव र व्यवसायिक वातावरणप्रति नयाँ चिन्ता थपिएको छ । यस्ता गतिविधिले आम नागरिकको दैनिक जीवनदेखि आर्थिक गतिविधिसम्म असर पार्न सक्ने संकेत देखिएपछि निजी क्षेत्रसमेत आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् ।
यही क्रममा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल ले पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्ज लगायत तराईका केही जिल्लामा देखापरेका अशान्तिपूर्ण गतिविधि तथा हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल विविध धर्म, भाषा, जातजाति र संस्कृतिको साझा पहिचान बोकेको मुलुक भएकाले यही विविधताभित्रको एकता, आपसी सम्मान र सहिष्णुता नै देशको सबैभन्दा ठूलो शक्ति रहेको उल्लेख गरेको छ । त्यसैले सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधिले दीर्घकालीन असर पार्न सक्ने चेतावनी पनि दिएको छ ।
नाडाले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार, असहमति र मागहरू शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट व्यक्त गर्ने मौलिक अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै हिंसा, तोडफोड, अशान्ति वा सामाजिक सद्भाव बिथोल्ने कुनै पनि कार्य स्वीकार्य हुन नसक्ने स्पष्ट पारेको छ ।
संस्थाका अनुसार यस्ता घटनाले केवल शान्ति सुरक्षा मात्र प्रभावित गर्दैनन् । उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि, बजारको विश्वास र समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रत्यक्ष नकारात्मक प्रभाव पर्ने भएकाले सम्पूर्ण व्यवसायी समुदाय चिन्तित बनेको छ ।
नाडाले सबै सम्बन्धित पक्षलाई संयमता अपनाउन, कानुनी तथा लोकतान्त्रिक प्रक्रियामार्फत संवाद र आपसी समझदारीका आधारमा समस्याको छिटो समाधान खोज्न आग्रह गरेको छ । साथै नेपाल सरकार र सम्बन्धित निकायलाई शान्ति सुरक्षा सुदृढ बनाउँदै नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न तथा सामान्य जनजीवन र व्यवसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न अनुरोध गरेको छ ।
विज्ञप्तिको अन्त्यमा नाडाले सम्पूर्ण नेपाली नागरिकलाई राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी सम्मान र सहिष्णुतालाई थप बलियो बनाउन आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न हार्दिक अपिल गरेको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती ले हस्ताक्षर गरेको उक्त विज्ञप्ति वर्तमान परिस्थितिमा सामाजिक एकता, शान्ति र स्थायित्व कायम राख्नु सबैको साझा दायित्व भएको सन्देशका साथ सार्वजनिक गरिएको हो ।