नाडाको स्वर्ण उत्सव सप्ताहव्यापी रूपमा मनाइँदै, असार १३ मा विशेष वाकाथन
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आफ्नो स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा सप्ताहव्यापी स्वर्ण उत्सव समारोह आयोजना गर्ने भएको छ । नाडाले असार १३ गतेदेखि १९ गतेसम्म काठमाडौंसहित देशका सातै प्रदेशमा विविध कार्यक्रम आयोजना गरी स्वर्ण जयन्ती विशेष रूपमा मनाउने जनाएको छ ।
स्वर्ण उत्सवको उद्घाटन कार्यक्रमअन्तर्गत असार १३ गते शनिबार बिहान ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट दरबारमार्गस्थित होटल याक एण्ड यतिसम्म विशेष स्वर्ण उत्सव वाकाथन आयोजना गरिनेछ । वाकाथनमा नाडाका पदाधिकारी, सदस्य, अटोमोवाइल व्यवसायी, विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ ।
वाकाथन सम्पन्न भएपछि होटल याक एण्ड यतिमा नाडाको स्वर्ण उत्सवको विशेष समारोह आयोजना हुनेछ । कार्यक्रममा नाडाको ५० वर्षे यात्रा, अटोमोवाइल क्षेत्रको विकासमा संस्थाले खेलेको भूमिका तथा आगामी योजनाबारे जानकारी गराइने बताइएको छ । साथै, विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने कार्यक्रम समेत रहने जनाइएको छ ।
नाडाले स्वर्ण उत्सवका अवसरमा आयोजना हुने कार्यक्रमहरूको समाचार संकलन तथा प्रकाशन–प्रसारणका लागि सञ्चारमाध्यमहरूलाई प्रतिनिधि तथा रिपोर्टर खटाई सहयोग गर्न अनुरोध गरेको छ । साथै, वाकाथनमा सहभागी हुन इच्छुक सम्पादक तथा सञ्चारकर्मीहरूले असार ११ गते बिहीबार साँझ ५ बजेसम्म नाडा सचिवालय, टेकुमा दर्ता गराई आफ्नो साइजअनुसारको स्वर्ण उत्सव विशेष टी–सर्ट प्राप्त गरी सोही टी–सर्ट लगाएर कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ ।
नाडाका अनुसार स्वर्ण उत्सव सप्ताहभर विभिन्न सामाजिक, व्यावसायिक, अन्तरक्रियात्मक तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन् । यी कार्यक्रमहरूले नेपालको अटोमोवाइल क्षेत्रको विकास, व्यवसायीबीचको सहकार्य र संस्थागत एकतालाई थप मजबुत बनाउने विश्वास नाडाले व्यक्त गरेको छ ।