काठमाडौं आउने–जाने सवारीका लागि नागढुंगा सुरुङमार्ग खुला, दुई प्रकारका सवारीलाई रोक
काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्य नाकामै सडकमा समस्या देखिएपछि बुधबार नागढुंगा क्षेत्रमा सवारी आवागमनको व्यवस्था अचानक परिवर्तन गरिएको छ । लामो समयदेखि सीमित सवारीका लागि मात्रै प्रयोग हुँदै आएको नागढुंगा सुरुङमार्ग अब सार्वजनिक सवारीका लागि समेत खुला गरिएको हो ।
नागढुंगा चेकपोस्टबाट करिब सात सय मिटर अगाडि पातले वन क्षेत्रमा सडक भासिएपछि मोटरसाइकल र पेट्रोलियम पदार्थ बोकेका सवारीबाहेक अन्य सवारीलाई सुरुङमार्गबाट आवतजावत गराउन थालिएको छ ।
सडक विभागका अनुसार मोटरसाइकल तथा पेट्रोलियम पदार्थ बोकेका सवारीलाई भने पुरानै सडकबाट एकतर्फी रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । अन्य निजी तथा सार्वजनिक सवारीलाई नागढुंगा सुरुङमार्ग प्रयोग गराइएको छ ।
यसअघि परीक्षणकै चरणमा रहेको सुरुङमार्ग आपतकालीन सेवा तथा नौ सिटसम्मका निजी सवारीका लागि मात्रै खुला गरिएको थियो । सडक भासिएपछि उत्पन्न यातायात दबाब व्यवस्थापन गर्न यसको प्रयोगको दायरा तत्कालका लागि बढाइएको हो ।
घटनापछि काठमाडौं प्रवेश गर्ने र राजधानीबाट बाहिरिने सवारीको लामो लाइन बनेको थियो । सुरुङमार्गबाट सार्वजनिक सवारी सञ्चालन सुरु भएपछि अहिले आवतजावत क्रमशः सहज बनाइएको छ ।
सडक विभागको टेक्निकल टोली सडक भासिएको स्थानमा पुगेर इन्स्पेक्सन गरिरहेको छ । क्षतिको अवस्था र सडकको आधार भागको अध्ययनपछि मर्मत कसरी अघि बढाउने भन्ने निर्णय गरिने विभागले जनाएको छ ।
नागढुंगा काठमाडौंलाई पृथ्वी राजमार्ग हुँदै देशका विभिन्न भागसँग जोड्ने सबैभन्दा व्यस्त सडक नाकामध्ये एक हो । यही क्षेत्रमा सडक अवरुद्ध हुँदा यात्रुवाहक बसदेखि मालवाहक सवारीसम्मको आवागमनमा तत्काल असर पर्ने गर्छ ।
सुरुङमार्गबाट सार्वजनिक सवारी चलाउन थालेपछि तत्कालको जाम व्यवस्थापनमा सहजता आए पनि पुरानो सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म नागढुंगा क्षेत्रमा सवारीको चाप व्यवस्थापन चुनौतीपूर्ण रहन सक्छ । सडकको अवस्थाबारे टेक्निकल अध्ययन पूरा भएपछि मात्रै नियमित यातायात व्यवस्था कस्तो हुने भन्ने स्पष्ट हुनेछ ।