Newad1
Featured blog image

नाइमा एक्स्पोमा नयाँ ईभीको बाढी, ४० भन्दा बढी मोडल एकैपटक सार्वजनिक

काठमाडौं । नेपालको अटोमोबाइल उद्योग आगामी साउनबाट नयाँ चरणमा प्रवेश गर्ने तयारीमा छ । साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने दोस्रो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ ले नेपाली बजारमा अहिलेसम्मकै ठूलो नयाँ मोडल सार्वजनिक गर्ने मञ्च बन्ने संकेत देखिएको छ ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का अनुसार एक्स्पोमा ५५ वटा ब्राण्ड सहभागी हुनेछन् भने ५१ वटा स्टल रहनेछन् । चार पाङ्ग्रे, दुई पाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, चार्जिङ प्रविधि, अटो सेवा र सम्बन्धित उत्पादनहरू एउटै छानामुनि प्रस्तुत गरिनेछन् ।

यसपटकको सबैभन्दा ठूलो आकर्षण भनेको ४० भन्दा बढी नयाँ मोडलको सार्वजनिक प्रदर्शन तथा लन्च हो । अधिकांश कम्पनीहरूले नयाँ विद्युतीय गाडीलाई प्राथमिकता दिएका छन् भने केही आयातकर्ताले नेपाली बजारका लागि पूर्ण रूपमा नयाँ ब्राण्डसमेत सार्वजनिक गर्ने तयारी गरेका छन् ।

यस वर्षको एक्स्पोमा सबैभन्दा ठूलो उपस्थितिका साथ लक्ष्मी ग्रुप सहभागी हुँदैछ । समूहअन्तर्गतका लक्ष्मी ई–मोबिलिटी, लक्ष्मी इन्टरकन्टिनेन्टल, लक्ष्मी मोटरहब र लक्ष्मी कमर्सियल ले संयुक्त रूपमा ८ वटा स्टल सञ्चालन गर्ने भएका छन् ।

लक्ष्मी ई–मोबिलिटीले कायी, फर्थिङ सार्वजनिक गर्ने तयारी गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई प्रदर्शन गर्नेछ भने लक्ष्मी मोटरहबले आर्कफक्स र बीएआईसी प्रस्तुत गर्नेछ । त्यस्तै, लक्ष्मी कमर्सियलले क्यारीसँगै अर्को नयाँ कमर्सियल ब्राण्ड नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।

स्थापित ब्राण्डसँगै नयाँ प्रतिस्पर्धीको प्रवेश

एक्स्पोमा सहभागी अधिकांश कम्पनीले आफ्नो उत्पादन लाइनअप विस्तार गर्दै नयाँ मोडल प्रदर्शन गर्ने भएका छन् । पारामाउण्ट मोटर्स ले वुलिङ र एमजी प्रदर्शन गर्नेछ भने एडभान्स अटोमोबाइल्स ले दुईवटा नयाँ ब्राण्ड पहिलोपटक नेपाली बजारमा प्रस्तुत गर्ने तयारी गरेको छ । एउटा यात्रुवाहक र अर्को कमर्सियल सेग्मेन्टमा रहने कम्पनीले जनाएको छ । साइमेक्स इंक ले बीवाइडी र डेन्जा प्रदर्शन गर्नेछ । जीओ अटोमोबाइल्स ले एमजीको छुट्टै स्टल राख्नेछ ।  युनाइटेड ट्रेडर्स सिन्डिकेट ले दुई पाङ्ग्रेतर्फ मोर्बिडेली र चार पाङ्ग्रेतर्फ टोयोटा प्रदर्शन गर्नेछ भने वैद्य इनर्जी ले एथर स्कुटर प्रदर्शन गर्ने तयारी गरेको छ ।

एसपीजी अटोमोबाइल्स ले ओमोडा एण्ड जेको तथा आइकार प्रदर्शन गर्नेछ । सिप्रदी ट्रेडिङ ले टाटा, हिमालय मोट्रेक्स ले म्याक्सस र आयाम इन्टरकन्टिनेन्टल ले आफ्नो ब्राण्ड भने एक्स्पोअघि मात्रै सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।  पायोनियर मोटोकर्प ले निसान र चेरी प्रदर्शन गर्नेछ । सांग्रिला मोटर्स ले लिपमोटर, सिट्रोएन र प्युजो प्रस्तुत गर्नेछ भने भिजी इम्पेक्स ले जीडब्ल्यूएम प्रदर्शन गर्ने भएको छ । जगदम्बा मोटर्स ले चार पाङ्ग्रेतर्फ प्रोटोन, कमर्सियलतर्फ चेरी वान्डा तथा दुई पाङ्ग्रेतर्फ टीभीएस प्रदर्शन गर्नेछ ।  त्यस्तै, अग्नी इन्कर्पोरेट ले महिन्द्रा, कन्टिनेन्टल ट्रेडिङ ले किया, ईभी राइड ले हनरी बोमा, एस. क्यूब इन्टरप्राइजेज ले हेनरी भोल्टर्स तथा फर्मी मोटर्स ले स्काईवर्थ र किटोन कमर्सियल भेहिकल प्रदर्शन गर्ने भएका छन् ।

दुई पाङ्ग्रेमा पनि नयाँ लहर

यस वर्ष एक्स्पोमा १८ वटा दुई पाङ्ग्रे स्टल रहनेछन्, जहाँ परम्परागत ब्राण्डदेखि नयाँ विद्युतीय ब्राण्डसम्मको प्रतिस्पर्धा देखिनेछ ।  हंशराज हुलासचन्द एण्ड कम्पनी ले बजाज, केटीएम र ट्रायम्फ प्रदर्शन गर्नेछ । कुजु नेपाल ले याडिया, प्रमिता इन्भेष्टमेन्ट ले ग्यारो, ऋषी ट्रेड ले सीएफमोटो र जीहो, स्याकर ट्रेडिङ ले होन्डा, टीजी अटो ले रोयल इन्फिल्ड, ट्रायान मोबिलिटी ले अल्ट्राभायोलेट, भिजी अटोमोबाइल्स ले सुजुकी तथा विशाल इन्टरप्राइजेज ले नयाँ दुई पाङ्ग्रे ब्राण्ड सार्वजनिक गर्ने तयारी गरेका छन् । त्यस्तै ईभीओक्यू ले केरेन स्कुटर, इको इन्फिनिटी ले न्यू तथा बाइकर्स नेपाल ले जेडएक्समोटो प्रदर्शन गर्नेछन् ।

कुन सेग्मेन्टमा हुनेछ सबैभन्दा ठूलो भिडन्त ?

यस वर्षको एक्स्पोमा सबैभन्दा रोचक प्रतिस्पर्धा ३० देखि ५० लाख रुपैयाँ मूल्य समूहमा हुने देखिएको छ । नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने यही सेग्मेन्टलाई लक्षित गर्दै अधिकांश कम्पनीले आफ्ना नयाँ विद्युतीय एसयूभी सार्वजनिक गर्ने तयारी गरेका छन् ।  ३०–४० लाख रुपैयाँ समूहमा वुलिङ विङ्गो, टाटा पन्च ईभी, आर्कफक्स टी–वान, प्रोटोन ई.मास ५ र चेरी क्यूक्यू–३ जस्ता मोडल चर्चामा छन् । 

४०–५० लाख रुपैयाँ समूहमा भने ओमोडा ओ४, चांगान निभो क्यू–०५ र लिपमोटर ए–१० जस्ता नयाँ मोडलले अहिले नै बिक्रीमा रहेका बीवाइडी एटो २, एमजी एस५, ओमोडा ई५ लगायतका मोडलसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।  त्यसैगरी ५० लाख रुपैयाँभन्दा माथिको प्रिमियम सेग्मेन्टमा टाटा सियरा ईभी, वुलिङ एक्सियन, एमजी स्टारलाइन, अवतार ०७, जिकर ७एक्स, अपडेटेड बीवाइडी एटो ३ तथा आइकार भी–२७ जस्ता मोडल सार्वजनिक हुने सम्भावना रहेको छ ।

मूल्यभन्दा अफरमा पनि प्रतिस्पर्धा

यसपटकको एक्स्पो नयाँ मोडल प्रदर्शनमा मात्रै सीमित रहने छैन । बजार हिस्सा विस्तार गर्ने लक्ष्यसहित अधिकांश कम्पनीले नगद छुट, एक्सचेन्ज बोनस, आकर्षक फाइनान्सिङ, निःशुल्क वाल चार्जर, इन्स्योरेन्स, विस्तारित वारेन्टी तथा अन्य विशेष अफर सार्वजनिक गर्ने तयारी गरेका छन् ।

यही कारण अहिले धेरै ग्राहकले गाडी खरिदको निर्णय स्थगित गर्दै एक्स्पोको प्रतीक्षा गरिरहेका छन् ।

यदि कम्पनीहरूले अपेक्षित मूल्य, स्पेसिफिकेसन र अफरसहित नयाँ मोडल सार्वजनिक गर्न सफल भए भने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ केवल एउटा प्रदर्शनी मात्रै नभई नेपालको विद्युतीय सवारी बजारको नयाँ प्रतिस्पर्धात्मक युग सुरु गर्ने मञ्च बन्न सक्ने देखिन्छ ।

footer