भोलि खुल्दैछ नाइमाको ढोका, ईभीदेखि मोटरसाइकलसम्म के–के छन् विकल्प ?
काठमाडौं । भृकुटीमण्डप परिसरमा यतिबेला सवारीको इन्जिन नचले पनि अटोमोबाइल बजारको उत्साह भने स्पष्ट देखिन थालेको छ । रंगीन संरचना, आकर्षक स्टल र नयाँ मोडलका लागि बनिरहेका विशेष स्थानले काठमाडौंमा फेरि एकपटक सवारीमय वातावरण सिर्जना गर्दैछ ।
भोलि साउन २६ गते अर्थात् अगस्ट ११ देखि नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु हुँदैछ । अगस्ट १६ सम्म चल्ने यस प्रदर्शनीमा करिब ५५ ब्रान्डका सवारीसाधन सहभागी हुनेछन् भने ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शनमा आउने अपेक्षा गरिएको छ ।
नेपाल अटोमोबाइल
इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनको आयोजनामा हुन लागेको यो एक्स्पोको
दोस्रो संस्करण हो । गत वर्षको पहिलो संस्करणले बनाएको उत्साहलाई निरन्तरता दिँदै
यसपटक प्रदर्शनीलाई अझ फराकिलो, व्यवस्थित र ग्राहककेन्द्रित बनाउने तयारी गरिएको
छ ।
प्रदर्शक
कम्पनीहरूले अहिले आफ्ना स्टललाई अन्तिम रूप दिने काम गरिरहेका छन् । स्टल संरचना,
प्रकाश व्यवस्था, सवारी राख्ने स्थान, सजावट, ब्रान्डिङ र आगन्तुक अनुभवसँग
जोडिएका कामलाई तीव्रता दिइएको छ । आयोजकका अनुसार एक्स्पो सुरु हुनुअघि सबै स्टल
पूर्ण रूपमा तयार भई आगन्तुकलाई स्वागत गर्नेछन् ।
यसपटक
प्रदर्शनीको मुख्य आकर्षण इलेक्ट्रिक सवारी, हाइब्रिड मोडल, पेट्रोल सवारी,
दुईपाङ्ग्रे तथा कमर्सियल सवारीसाधन रहनेछन् । बिवाइडी, एमजी, हुन्डाई, किया,
टाटा, टोयोटा, निसान, प्रोटोन, लिपमोटर, ओमोडा एन्ड जेको, आइकाउर, जिकर, म्याक्सस,
महिन्द्रा, बीएआईसी, आर्कफक्स, प्युजो, फोर्थिङ र वुलिङसहितका ब्रान्डले आफ्ना
सवारी तथा प्रविधि प्रदर्शन गर्ने तयारी गरेका छन् ।
नेपालमा
इलेक्ट्रिक सवारीप्रतिको आकर्षण बढिरहेका बेला एक्स्पोमा मूल्य घोषणा, बुकिङ खुला,
एक्सचेन्ज सुविधा, फाइनान्स योजना तथा सीमित अवधिका ग्राहक अफर सार्वजनिक हुन
सक्नेछन् । दशैं–तिहार नजिकिँदै जाँदा नयाँ गाडी किन्ने योजना बनाएका ग्राहकका
लागि पनि यो प्रदर्शनी बजार बुझ्ने र विकल्प तुलना गर्ने उपयुक्त अवसर बन्नेछ ।
चारपाङ्ग्रेसँगै
दुईपाङ्ग्रे क्षेत्रमा पनि एक्स्पोले ठूलो चासो सिर्जना गर्ने देखिएको छ । होन्डा,
टीभीएस, बजाज, केटीएम, सुजुकी, ट्रायम्फ, रोयल एनफिल्ड, एनआईयू, अल्ट्राभायोलेट,
याडिया र सीएफमोटो जस्ता ब्रान्डले नयाँ मोटरसाइकल, स्कुटर तथा विद्युतीय
दुईपाङ्ग्रे विकल्प प्रदर्शन गर्नेछन् ।
आगन्तुकको
सहजतालाई ध्यानमा राख्दै पार्किङ व्यवस्थापनमा पनि सुधार गरिएको जनाइएको छ ।
भृकुटीमण्डप परिसरको पार्किङ व्यवस्थित गर्नुका साथै प्रदर्शनीस्थल पारिपट्टि
रहेको नेपाल पुलिस क्लबको भूमिगत पार्किङ क्षेत्रसमेत प्रयोगमा ल्याइनेछ । यसले
विगतको तुलनामा पार्किङको चाप कम गर्न सहयोग पुग्ने अपेक्षा छ ।
टिकट
व्यवस्थापनलाई सहज बनाउन डिजिटल टिकटको व्यवस्था गरिएको छ । डिजिटल माध्यमबाट टिकट
लिने आगन्तुकले विभिन्न योजनाअन्तर्गत अधिकतम ५० प्रतिशतसम्म क्यासब्याक पाउनेछन्
। प्रदर्शनीस्थलमा फुड कोर्ट तथा बेभरेज अनुभवसमेत रहने भएकाले परिवारसहित आउने
दर्शकका लागि सवारी अवलोकनसँगै खानपिन र मनोरञ्जनको वातावरण पनि तयार हुनेछ ।
एक्स्पो केवल
नयाँ गाडी हेर्ने थलोमा सीमित रहने छैन । अटोमोबाइल उद्योग, नयाँ प्रविधि, चार्जिङ
पूर्वाधार, दिगो यातायात र भविष्यको मोबिलिटीबारे ज्ञान आदानप्रदानका
कार्यक्रमसमेत हुनेछन् । यसले विद्यार्थी, अटोमोबाइलप्रेमी, व्यवसायी तथा यस
क्षेत्रका सरोकारवालालाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ ।
गत वर्षको
संस्करणमा एक लाखभन्दा बढी आगन्तुकले प्रदर्शनी अवलोकन गरेका थिए । यसपटक नयाँ
ब्रान्डको उपस्थिति, ४० भन्दा बढी नयाँ मोडल, डिजिटल टिकट, सहज पार्किङ र विविध
ग्राहक अनुभवका कारण आगन्तुक संख्या थप बढ्ने अनुमान गरिएको छ ।
भोलिदेखि भृकुटीमण्डपमा सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोले नेपाली अटो बजारको अहिलेको गति मात्र होइन, आगामी दिनमा ग्राहकले रोज्न सक्ने सवारी, प्रविधि र यात्राको नयाँ दिशा पनि देखाउनेछ ।