Newad1
Featured blog image

नारायणगढ–बुटवल सडकमा बाँदरका लागि थप दुई क्यानोपी पुलको तयारी

नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डमा बाँदरलाई सडक वारपार गराउन थप दुई आकाशे झोलुङ्गे पुल निर्माण गर्ने तयारी गरिएको छ । बाँदर सडकमा ओहोरदोहोर गर्दा हुने सवारी दुर्घटनाको जोखिम कम गर्न जंगल क्षेत्रमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थप्न लागिएको हो ।

नयाँ पुल कावासोती र लाकाहाबीच तथा चोरमारा र अरुणखोलाबीचको जंगलमा निर्माण गर्ने तयारी छ । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बाँदरले राजमार्ग काट्दा हुने दुर्घटना न्यूनीकरण गर्न यी संरचना बनाउन लागिएको हो ।

गैँडाकोट–१० को पितौँजी जंगलमा यसअघि नै एउटा क्यानोपी पुल निर्माण भइसकेको छ । सडकमाथि बनाइएको उक्त पुल ३४ मिटर लामो र चार फिट चौडा छ । खनालका अनुसार त्यसबाट फाट्टफुट्ट बाँदर वारपार गरेको देखिए पनि प्रभावकारिता मूल्याङ्कन गर्ने बेला अझै भएको छैन ।

निर्माण भइसकेको पुल प्रयोग गर्न बाँदरलाई आकर्षित गर्ने उद्देश्यले केही समय फलफूल राख्ने तयारी पनि आयोजनाले गरेको छ । खनालले एउटा क्यानोपी पुल पाँच लाख रुपैयाँभन्दा कम लागतमा निर्माण हुने बताएका छन् । नयाँ दुई पुलको निर्माण समयसीमा र छुट्टाछुट्टै लागत भने खुलाइएको छैन ।

सडक विस्तारसँगै वन्यजन्तुको प्राकृतिक आवागमनमा पर्ने असर कम गर्नु पनि पुल निर्माणको उद्देश्य हो । आयोजनाले जैविक विविधता संरक्षणका लागि राजमार्ग आसपासका जंगलमा पानीपोखरी निर्माण र चोरीसिकारी नियन्त्रणमा सहयोग गर्ने कामसमेत गरेको जनाएको छ ।

स्रोत: रासस ।

footer