Newad1
Featured blog image

नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द, राति एम्बुलेन्ससहित अलपत्र सवारीलाई गन्तव्य पठाइयो

तुइनखोला र जलविरे क्षेत्रमा पहिरोको उच्च जोखिम, अर्को सूचना नभएसम्म नयाँ सवारी प्रवेशमा रोक ।

काठमाडौं । लगातारको अविरल वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आपतकालीन बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म उक्त सडकमा कुनै पनि नयाँ सवारीसाधन सञ्चालन नगर्न निर्देशन दिएको हो ।

सोमबार साँझ इच्छाकामना गाउँपालिका–स्थित तुइनखोलामा ढुंगासहितको लेदो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । सडक डिभिजन कार्यालय भरतपुरका सडक सुपरभाइजर शुकबहादुर गुरुङका अनुसार गएराति करिब १०ः३० बजे पहिरो हटाएर बीच बाटोमा अलपत्र परेका सवारीसाधन तथा एम्बुलेन्सलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको थियो ।

यद्यपि रातभरि र मंगलबार बिहानसम्म पनि वर्षा नरोकिएकाले जलविरे नजिकै पुनः पहिरो खसेर सडक फेरि अवरुद्ध भएको छ। हाल उक्त क्षेत्रमा डोजर तथा अन्य मेसिन परिचालन गरी पहिरो पन्छाउने काम जारी रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

प्रशासनका अनुसार यस क्षेत्रमा अझै पनि पहिरो खस्ने जोखिम अत्यधिक रहेकाले सुरक्षाको दृष्टिले अर्को सूचना जारी नभएसम्म कुनै पनि थप सवारीसाधनलाई नारायणगढ–मुग्लिन सडकखण्डमा प्रवेश गर्न दिइने छैन ।

प्रशासनले अत्यावश्यक कामबाहेक यो सडक प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यदि यात्रा गर्नैपर्ने बाध्यात्मक अवस्था भएमा यात्रा अघि सडकको पछिल्लो अवस्था बुझ्न, सुरक्षाकर्मीको निर्देशन पालना गर्न तथा आवश्यक सुरक्षा सामग्री साथमा राख्न अनुरोध गरिएको छ । साथै, अहिलेको अवस्थामा यात्रा नगर्नु नै सबैभन्दा सुरक्षित विकल्प हुने प्रशासनको भनाइ छ ।

footer