बाढीले क्षतिग्रस्त १८ झोलुङ्गे पुल सञ्चालनमा, मर्मतमा साढे ५ करोड खर्च
काठमाडौं । भोटेकोशी–त्रिशूली नदी क्षेत्रमा आएको बाढीले क्षतिग्रस्त बनाएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आएका छन् । नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न स्थानमा रहेका यी पुल खुलेसँगै स्थानीयको पैदल आवागमन सहज भएको छ ।
स्थानीय पूर्वाधार विकास
विभागअन्तर्गतको झोलुङ्गे पुल डिभिजन कार्यालयका योजना प्रमुख शंकर बुढाथोकीका
अनुसार मर्मतमा करिब ५ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । कार्यालयले क्षति पुगेका
सबै १८ पुल सञ्चालनमा आइसकेको जनाएको छ ।
मर्मत गरिएका पुलमा नुवाकोटका
पिमलटार–जगराम र जिलिङ, नुवाकोट–धादिङ जोड्ने फोरेसेटार तथा धादिङको मलेखुलगायत
छन् । गोरखा र चितवन जोड्ने कुरिनटारको लेवाटार तथा फिस्लिङका झोलुङ्गे पुल पनि
सञ्चालनमा आएका छन् ।
क्षतिको अवस्थाअनुसार केही पुलमा
व्यापक र केहीमा सामान्य मर्मत गरिएको कार्यालयले जनाएको छ । सञ्चालनमा आएका यी
संरचना पैदल आवागमनका झोलुङ्गे पुल हुन् ।