दशैंमा इन्धनको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्ब ४५ करोड घाटाको अनुमान
काठमाडौं । नेपाल आयल निगमले चाडपर्वमा उपभोक्तालाई थप मूल्यभार नपार्ने भन्दै पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसनबाट असोज २९ गते प्राप्त नयाँ खरिद मूल्यसूचीपछि निगम सञ्चालक समितिले साविककै मूल्य कायम राख्ने निर्णय गरेको हो ।
निगमका अनुसार हालकै बिक्री मूल्य
कायम राख्दा आगामी १५ दिनमा ३ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ घाटा हुने अनुमान छ ।
यो नयाँ खरिद मूल्यका आधारमा गरिएको पाक्षिक प्रक्षेपण हो ।
दशैंको यात्राका लागि सवारी आवागमन बढिरहेका बेला निगमले आसन्न चाडपर्व र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर मूल्य नबढाएको जनाएको छ । यससँगै पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको हाल कायम मूल्यले निरन्तरता पाएको छ ।