Newad1
Featured blog image

थप २३ अन्तरप्रदेशीय रुट स्वीकृत, कुल संख्या ३०३ पुग्यो

काठमाडौं । यातायात व्यवस्था विभागले थप २३ अन्तरप्रदेशीय रुट स्वीकृत गरेको छ । यसअघि २८० रुटमा सवारी सञ्चालनको अनुमति दिइएकामा नयाँ निर्णयसँगै संख्या ३०३ पुगेको हो । विभागको असोज २६ गतेको बैठकले नयाँ रुट थप्ने निर्णय गरेको हो ।

विभागले असोज २७ गते नयाँ रुट र कायम हुने भाडादरसम्बन्धी सूचना प्रकाशित गरेको छ । थपिएका रुटमा चल्न पाउने सवारीको प्रकार तथा दिवा वा रात्रि सेवासमेत तोकिएको छ । निर्णय कार्यान्वयन गर्न सवारी परीक्षण केन्द्रहरूलाई निर्देशन दिइएको छ ।

नयाँ रुटमध्ये काठमाडौंको नयाँ बसपार्कबाट सातदोबाटो–टिकाभैरव–ठिंगन–हेटौँडा हुँदै वीरगञ्ज पुग्ने रुटको दूरी १६१ किलोमिटर कायम गरिएको छ । यसमा साना तथा मझौला यात्रुवाहक र मालवाहक सवारीका लागि दिवा सेवा स्वीकृत गरिएको छ । यात्रु भाडा ५६६ रुपैयाँ तोकिएको छ । हेटौँडाबाट हरिहरपुरगढी–मरिण–सिन्धुली–कटारी–गाईघाट–चतरा हुँदै इटहरी जोड्ने ३२९ किलोमिटरको रुटमा पनि दिवा सेवा तोकिएको छ । यसको यात्रु भाडा १ हजार १५८ रुपैयाँ छ ।

पूर्वी नेपालबाट नारायणघाट–मुग्लिन हुँदै काठमाडौं जोड्ने रुट पनि थपिएका छन् । विराटनगर–काठमाडौं रुटको दूरी ५५२ किलोमिटर र राजविराज–काठमाडौं रुटको दूरी ४७६ किलोमिटर कायम गरिएको छ । काठमाडौंलाई जलेश्वर, मनरा, भिठ्ठामोड र खजुरीलगायत मधेसका गन्तव्यसँग जोड्ने रुटसमेत नयाँ सूचीमा समावेश छन् ।

वीरगञ्जबाट हेटौँडा–भरतपुर हुँदै माडीको बसन्तपुर र मेघौली हुँदै गोलाघाट पुग्ने दुई रुटलाई पनि दिवा सेवाको अनुमति दिइएको छ । बसन्तपुरसम्मको १७२ किलोमिटरमा ६०५ रुपैयाँ र गोलाघाटसम्मको १६२ किलोमिटरमा ५७० रुपैयाँ यात्रु भाडा निर्धारण गरिएको छ ।

footer