Newad1
Featured blog image

असोजमै २७ अर्ब ७६ करोडको पेट्रोल–डिजेल आयात, तीन महिनामा झन्डै ७२ अर्ब

काठमाडौं । भदौको तुलनामा असोजमा पेट्रोल आयात १९ प्रतिशत घटेको छ भने डिजेल आयात २५.५ प्रतिशत बढेको छ । असोजमा ५ करोड ६० लाख ५७ हजार लिटर पेट्रोल र १० करोड ३० लाख १२ हजार लिटर डिजेल भित्रिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म यी दुई इन्धनको संयुक्त आयात मूल्य ७१ अर्ब ९३ करोड ४२ लाख रुपैयाँ पुगेको छ । यसमध्ये डिजेलको आयात मूल्य ४७ अर्ब ३१ करोड १८ लाख र पेट्रोलको २४ अर्ब ६२ करोड २४ लाख रुपैयाँ छ ।

पेट्रोल आयात साउनको तुलनामा भदौमा बढे पनि असोजमा फेरि घटेको हो । साउनमा ५ करोड ६३ लाख ९ हजार लिटर पेट्रोल आयात भएकामा भदौमा ६ करोड ९१ लाख ८८ हजार लिटर पुगेको थियो । तीन महिनामा कुल १८ करोड १५ लाख ५४ हजार लिटर पेट्रोल भित्रिएको छ ।

डिजेलको आयात भने भदौमा घटेर असोजमा साउनकै हाराहारी पुगेको छ । साउनमा १० करोड ३३ लाख ९६ हजार लिटर डिजेल आयात भएकामा भदौमा ८ करोड २० लाख ६० हजार लिटरमा झरेको थियो । तीन महिनाको कुल डिजेल आयात २८ करोड ८४ लाख ६८ हजार लिटर छ ।

पेट्रोलको परिमाण र आयात मूल्यको गिरावटमा भने अन्तर छ । भदौमा ९ अर्ब २५ करोड १२ लाख रुपैयाँको पेट्रोल आयात भएकामा असोजमा ८ अर्ब ४८ करोड ८७ लाख रुपैयाँमा झरेको छ । परिमाण १९ प्रतिशत घट्दा आयात मूल्य भने ८.२ प्रतिशत घटेको हो ।

डिजेलको आयात मूल्य भदौको १४ अर्ब १८ करोड ५३ लाख रुपैयाँबाट असोजमा १९ अर्ब २७ करोड २० लाख रुपैयाँ पुगेको छ । परिमाणमा २५.५ प्रतिशत वृद्धि हुँदा आयात मूल्य ३५.९ प्रतिशत बढेको छ ।

footer