चितवनमा नेभो क्यू०५ अल्ट्रा सार्वजनिक, मूल्य ५१.९९ लाख
चितवन । चाङ्गानको विद्युतीय सवारी ब्रान्ड नेभोअन्तर्गतको क्यू०५ अल्ट्रा चितवनमा सार्वजनिक गरिएको छ । चितवनका लागि अधिकृत चाङ्गान डिलर राजहंस अटोमोबाइलले आयोजना गरेको कार्यक्रममा गाडीको विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
ग्राहकले भदौ २९ देखि ३१ गतेसम्म भरतपुरको रिजालचोकस्थित दीपल शोरुममा क्यू०५ को टेस्ट ड्राइभ गर्न सक्नेछन् । सार्वजनिक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी, चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष इन्द्र रेग्मीसहित कम्पनी तथा डिलरका प्रतिनिधि सहभागी थिए ।
क्यू०५ मा १२० किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ । कम्पनीका अनुसार गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा लिन सक्छ । यसको आधिकारिक डब्लुएलटीपी रेन्ज ४०५ किलोमिटर र ऊर्जा खपत १२.९ किलोवाट आवर प्रतिएक सय किलोमिटर रहेको उल्लेख छ ।
गाडीमा क्याटलको ब्याट्री सेलमा आधारित गोल्डेन सिल्ड ब्याट्री २.० प्रविधि प्रयोग गरिएको छ । उपयुक्त फास्ट चार्जर र निर्धारित अवस्थामा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १५ मिनेट लाग्ने कम्पनीको दाबी छ । क्यू०५ मा २ हजार ७३५ मिलिमिटर ह्वीलबेस, ५४० लिटरको डुअल–लेभल बुट, ९० लिटरको लुकेको स्टोरेज र पछाडिको सिटका लागि दुई तहको रिक्लाइन सुविधा दिइएको छ ।
यसमा १४.६ इन्चको टचस्क्रिन, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ५४० डिग्री प्यानोरामिक भ्यु र भेरियन्टअनुसार १८ वटासम्म ड्राइभर–असिस्टेन्स सुविधा उपलब्ध छन् । नेपालमा चाङ्गान तथा यसका दीपल, नेभो र अवतार ब्रान्डको आधिकारिक प्रतिनिधित्व एमएडब्लू वृद्धि अटोकर्पले गर्दै आएको छ ।