चितवन पुग्यो नेभो क्यू०५, हेरेर मात्रै होइन, चलाएरै रोज्ने अवसर
चितवन । नयाँ इलेक्ट्रिक एसयूभी किन्ने सोचमा रहेका चितवनका ग्राहकले अब तस्बिर र प्राविधिक विवरण हेरेर मात्रै निर्णय लिनुपर्ने छैन । आकर्षक डिजाइन, फराकिलो केबिन र तीव्र चार्जिङ क्षमतासहित आएको नयाँ मोडललाई उनीहरूले तीन दिनसम्म आफैँ चलाएर अनुभव गर्न पाउने भएका छन् ।
चाङ्गानको नयाँ ऊर्जा सवारी ब्रान्ड नेभोअन्तर्गतको क्यू०५ आज भदौ २८ गते चितवनमा शोकेस हुँदै छ । औपचारिक सार्वजनिक प्रदर्शनसँगै ग्राहकका लागि भदौ २९ देखि ३१ गतेसम्म दीपल चितवन शोरुममा विशेष टेस्ट ड्राइभ आयोजना गरिएको छ ।
भरतपुर–१० स्थित शोरुममा पुग्ने ग्राहकले गाडीको डिजाइन र केबिन मात्रै हेर्ने होइन, यसको ड्राइभिङ कम्फर्ट, पावर डेलिभरी, सस्पेन्सन र शहरी सडकमा चलाउँदाको अनुभवसमेत प्रत्यक्ष जाँच्न सक्नेछन् । चितवन क्षेत्रमा चाङ्गानको आधिकारिक डिलर राजहंस अटोमोबाइल प्रालिले टेस्ट ड्राइभ कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
नेभो क्यू०५ अल्ट्राको विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसमा रहेको १२० किलोवाटको इलेक्ट्रिक मोटरले दैनिक शहरी यात्रा र लामो दूरी दुवैका लागि आवश्यक पावर दिने कम्पनीको दाबी छ । गाडीले एनईडीसी परीक्षणअनुसार एकपटकको फुल चार्जमा ४६२ किलोमिटरसम्म रेन्ज दिने र यसको ऊर्जा खपत प्रतिएक सय किलोमिटर १२.९ किलोवाट आवर रहेको जनाइएको छ ।
गाडीमा ५१.९ किलोवाट आवरको क्याटल एलएफपी ब्याट्री जडान गरिएको छ । चाङ्गानको गोल्डेन सिल्ड २.० ब्याट्री सिस्टमसँग जोडिएको यो ब्याट्रीले थ्री–सी फास्ट चार्जिङ र अधिकतम १६२ किलोवाट डीसी चार्जिङ सपोर्ट गर्छ । उपयुक्त फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म पुर्याउन करिब १५ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
क्यू०५ को २ हजार ७३५ मिलिमिटर ह्वीलबेसले अगाडि र पछाडिका यात्रुका लागि पर्याप्त ठाउँ उपलब्ध गराउँछ । आवश्यकता अनुसार ढल्काउन मिल्ने पछाडिका सिट र ५४० लिटरको बुट स्पेसले यसलाई दैनिक प्रयोगसँगै पारिवारिक यात्रामा पनि व्यावहारिक बनाउने प्रयास गरेको छ ।
यसको एरोडाइनामिक बाहिरी बनावट, विशिष्ट लाइटिङ सिग्नेचर र फराकिलो रोड प्रेजेन्स तयार गर्न चाङ्गानको अन्तर्राष्ट्रिय डिजाइन नेटवर्क प्रयोग गरिएको हो । पूर्व फक्सवागन ग्रुप डिजाइन प्रमुख क्लाउस जाइसिओराको नेतृत्वमा विकास गरिएको यसको डिजाइनले अन्तर्राष्ट्रिय गोल्डेन ए डिजाइन अवार्डसमेत प्राप्त गरेको छ ।
नेपालमा चाङ्गान तथा यसअन्तर्गतका दीपल, नेभो र अभतार ब्रान्डको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्प प्रालि हो । काठमाडौंकेन्द्रित नयाँ गाडी सार्वजनिक गर्ने प्रचलनबीच चितवनमै शोकेस र टेस्ट ड्राइभ आयोजना हुँदा नारायणगढ–भरतपुरसहित आसपासका ग्राहकले खरिदअघि गाडीलाई वास्तविक सडकमा जाँच्ने अवसर पाउनेछन् ।
नेभो क्यू०५को चितवन आगमनलाई बिक्री घोषणामा मात्रै सीमित नराखी प्रत्यक्ष ड्राइभिङ अनुभवसँग जोडिएको छ । इच्छुक ग्राहकले भदौ २९, ३० र ३१ गते दीपल चितवन शोरुममा पुगेर टेस्ट ड्राइभ गर्न सक्ने राजहंस अटोमोबाइलले जनाएको छ ।