१५ मिनेटमा ३० बाट ८० प्रतिशत चार्ज हुने निभो क्यू०५ धनगढीमा
धनगढी । चांगानको विद्युतीय एसयूभी निभो क्यू०५ धनगढीमा सार्वजनिक गरिएको छ । नेपालका लागि चांगानको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पअन्तर्गत धनगढी क्षेत्रको आधिकारिक डिलर श्री ग्लोबल प्रालिले गाडी सार्वजनिक गरेको हो । यसको अल्ट्रा भेरियन्टको विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । ग्राहकले गाडी चलाएर अनुभव लिन सक्ने गरी असोज २६ देखि २९ गतेसम्म धनगढी उपमहानगरपालिका–१३, राजपुरस्थित दिपल शोरुममा चारदिने टेस्ट ड्राइभ कार्यक्रमसमेत आयोजना गरिएको छ ।
निभो क्यू०५ मा १२० किलोवाटको
इलेक्ट्रिक मोटर छ । कम्पनीका अनुसार यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको
गति लिन ८.१ सेकेन्ड लगाउँछ भने एनईडीसी परीक्षणअनुसार एकपटकको चार्जमा ४६२
किलोमिटरसम्म रेन्ज प्रदान गर्छ । यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ किलोवाट
आवर रहेको विज्ञप्तिमा उल्लेख छ । गाडीमा क्याटलका ब्याट्री सेल र चांगानको
गोल्डेन शिल्ड ब्याट्री २.० प्रविधि प्रयोग गरिएको छ । थ्री–सी फास्ट चार्जिङ
प्रणालीमार्फत उपयुक्त अवस्थामा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज
गर्न करिब १५ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
क्याबिनको ठाउँ र सामान राख्ने
सुविधालाई पनि यस मोडलको मुख्य विशेषताका रूपमा प्रस्तुत गरिएको छ । निभो क्यू०५
को ह्विलबेस २,७३५ एमएम छ भने पछाडिको सिटको ब्याकरेस्टलाई २८ र ३३ डिग्रीका दुई
कोणमा ढल्काउन सकिन्छ । कम्पनीका अनुसार नौ तहको संरचनामा तयार पारिएका सिटले
यात्राको आरामलाई प्राथमिकता दिएका छन् । सामान राख्न ५४० लिटरको दुई तहयुक्त बुट
स्पेस र ९० लिटरको लुकाइएको स्टोरेज उपलब्ध छ । क्याबिनमा २९ वटासम्म स्टोरेज
स्पेस तथा आवाज र कम्पन कम गर्न ६७ भन्दा बढी इन्सुलेसन तथा न्वाइज रिडक्सन पोइन्ट
प्रयोग गरिएको जनाइएको छ ।
यसको डिजाइन चांगानका ग्लोबल डिजाइन
उपाध्यक्ष तथा फक्सवागन समूहका पूर्व डिजाइन प्रमुख क्लाउस जाइसिओराको नेतृत्वमा
विकास गरिएको हो । फुग्वाङ डिजाइन दर्शनमा आधारित एसयूभीको एरोडायनामिक ड्र्याग
कोइफिसियन्ट ०.२६५ सीडी छ । अगाडिको डिजिटल विङ २.० लाइटिङ सिग्नेचर, स्टार–रिङ
म्याट्रिक्स एलईडी टेललाइट र सेमी–हिडन डोर ह्यान्डल यसको बाहिरी डिजाइनका मुख्य
विशेषता हुन् । कम्पनीले यस मोडलले सन् २०२६ को गोल्डेन ए’ डिजाइन अवार्ड प्राप्त
गरेको पनि जनाएको छ ।
क्याबिनमा १४.६ इन्चको १०८०पी
टचस्क्रिन र एमटीके८६७५ प्रोसेसरसहित वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो
कनेक्टिभिटी उपलब्ध छन् । विज्ञप्तिअनुसार भेरियन्टका आधारमा १८ वटासम्म एडभान्स्ड
ड्राइभर असिस्टेन्स सुविधा र ५४० डिग्री प्यानोरामिक भ्युइङ सिस्टमसमेत उपलब्ध छन्
। केही भेरियन्टमा विद्युतीय सनसेडसहितको १.८ वर्गमिटर प्यानोरामिक ग्लास रुफ
दिइएको छ । टेस्ट ड्राइभ कार्यक्रममा ग्राहकले गाडीको क्याबिन, प्रविधि र ड्राइभिङ
अनुभवसँगै उपलब्ध भेरियन्टका सुविधाबारे जानकारी लिन सक्नेछन् ।
सार्वजनिक समारोह सुदूरपश्चिम उद्योग वाणिज्य महासंघका अध्यक्ष पुष्पराज कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा एमएडब्लु वृद्धिका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लु वृद्धि अटोकर्पका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर चन्द तथा श्री ग्लोबलका अध्यक्ष हितेश ओझा र प्रबन्ध निर्देशक कृष्णदेव उप्रेती उपस्थित थिए । धनगढीमा दिपल र निभोको आधिकारिक डिलर रहेको श्री ग्लोबलले राजपुरस्थित शोरुमबाट सवारी बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ ।