Newad1
Featured blog image

दिपल, नामी र सेरेस ग्राहकका लागि समर्पित नयाँ ईभी सर्भिस हब सञ्चालनमा

काठमाडौं । नेपालमा दिपल, नामी र सेरेस ब्रान्डका विद्युतीय सवारीसाधनको आधिकारिक बिक्री–वितरण गर्दै आएको एमएडब्लु वृद्धि अटोकर्पले ललितपुरको बालकुमारीमा अत्याधुनिक ईभी वर्कसप सञ्चालनमा ल्याएको छ । कम्पनीले मंगलबार आयोजित विशेष समारोहबीच नयाँ सेवा केन्द्रको औपचारिक उद्घाटन गरेको हो ।

नयाँ वर्कसपको उद्घाटन एमएडब्लु ग्रुपकी अध्यक्ष शान्ति देवी अग्रवाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, डोंगफेंग मोटर्सका दक्षिण एसिया क्षेत्रीय बिक्री निर्देशक हे जिसिन, क्षेत्रीय सर्भिस म्यानेजर लि सिनचुंग तथा कम्पनीका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा गरेका थिए ।

कम्पनीका अनुसार नयाँ वर्कसपले दिपल, नामी र सेरेसका ग्राहकलाई अझ छिटो, प्रभावकारी तथा विश्वसनीय बिक्रीपछिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । कम्पनीले यसलाई सामान्य सर्भिस सेन्टरभन्दा माथि उठेर ग्राहकको दीर्घकालीन विश्वास र सन्तुष्टिलाई केन्द्रमा राखेर निर्माण गरिएको पूर्वाधारका रूपमा प्रस्तुत गरेको छ । 

बालकुमारीस्थित वर्कसपमा ९ वटा समर्पित सर्भिस बे रहेका छन् भने २४ जना प्रमाणित ईभी प्राविधिक परिचालन गरिनेछ । कम्पनीका अनुसार उक्त जनशक्ति र पूर्वाधारको सहयोगमा दैनिक ३६ भन्दा बढी विद्युतीय सवारीसाधनलाई सेवा प्रदान गर्न सकिने क्षमता रहेको छ ।

वर्कसपमा आधुनिक ईभी ब्याट्री डायग्नोस्टिक प्रणाली जडान गरिएको छ, जसले ब्याट्रीसम्बन्धी समस्या पहिचान, परीक्षण तथा मर्मत प्रक्रियालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

करिब १५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यस सुविधा सम्पन्न केन्द्रमा स्पेयर पार्ट्स भण्डारण क्षेत्र, प्राविधिक तालिमका लागि छुट्टै ट्रेनिङ रुम तथा ग्राहकका लागि आरामदायी प्रतिक्षालयको व्यवस्था गरिएको छ । कम्पनीले यी सुविधामार्फत ग्राहकलाई प्रिमियम स्तरको स्वामित्व अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।

नयाँ सर्भिस सेन्टरमार्फत काठमाडौं उपत्यकाभित्र पिकअप एन्ड ड्रप सेवा, फास्ट–ट्र्याक सर्भिस, २४/७ ब्रेकडाउन असिस्टेन्स तथा समर्पित सर्भिस हटलाइन सेवा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपालमा विद्युतीय सवारीको प्रयोग तीव्र गतिमा बढिरहेका बेला बिक्रीपछिको सेवा पूर्वाधार विस्तारलाई बजार प्रतिस्पर्धाको प्रमुख आधार मानिएको छ । यस्तो परिवेशमा एमएडब्लु वृद्धिको नयाँ ईभी वर्कसपले ग्राहकलाई थप व्यवस्थित, प्राविधिक रूपमा सक्षम तथा सहज सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

footer