निसानले सार्वजनिक गर्यो २५९ किलोमिटर रेन्जको पिक्सो ईभी
काठमाडौं । निसानले युरोपेली बजारका लागि सानो र तुलनात्मक रूपमा किफायती विद्युतीय सिटी कार ‘पिक्सो’ सार्वजनिक गरेको छ । सन् २०२७ को सुरुवातमा बेलायतका सडकमा उतार्ने लक्ष्य राखिएको यो ईभीको मूल्य २० हजार पाउन्डभन्दा कम हुन सक्ने अनुमान छ ।
करिब ३.८ मिटरभन्दा छोटो पिक्सो रेनो ट्विङ्गोको प्राविधिक आधारमा तयार भएको हो । बाहिरी डिजाइनमा निसानले आफ्नै पहिचान दिन नयाँ एलईडी हेडलाइट, फरक बम्पर र पछाडिको नयाँ स्वरूप प्रयोग गरेको छ । ढोका, सिसा र केही बडी प्यानल ट्विङ्गोसँग साझा गरिएका छन् । यसले विकास तथा उत्पादन खर्च घटाएर मूल्य प्रतिस्पर्धी राख्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
पिक्सोमा २७.५ किलोवाट आवरको एलएफपी ब्याट्री र करिब ५८ किलोवाटको फ्रन्ट–माउन्टेड मोटर रहने बताइएको छ । मोटरले १७५ न्युटन मिटर टर्क उत्पादन गर्छ । यसको लक्षित डब्लुएलटीपी रेन्ज १६१ माइल अर्थात् करिब २५९ किलोमिटर छ । वास्तविक रेन्ज भने मौसम, गति, एयर कन्डिसन, यात्रुको संख्या, सडकको उकालो–ओरालो र ड्राइभिङ शैलीअनुसार फरक हुन सक्छ ।
डिसी फास्ट चार्जिङ क्षमता ५०
किलोवाटसम्म रहने र १० देखि ८० प्रतिशत चार्ज हुन करिब २८ मिनेट लाग्ने उल्लेख छ ।
एसी चार्जिङ ११ किलोवाटसम्म समर्थित हुनेछ भने भीटुएल सुविधा पनि उपलब्ध हुने
बताइएको छ । क्याबिनमा १० इन्चको टचस्क्रिन, सात इन्चको ड्राइभर डिस्प्ले, गुगल
नेभिगेसन र जेमिनाइ आर्टिफिसियल इन्टेलिजेन्स समावेश हुने विवरण छ । पछाडिका दुई
सिट छुट्टाछुट्टै सार्न मिल्ने र बुट क्षमता अधिकतम ३५६ लिटरसम्म हुने बताइएको छ ।
बेलायतमा यसको आधिकारिक मूल्य डिसेम्बरमा मात्र सार्वजनिक हुने अपेक्षा छ । अहिले १८ हजारदेखि २० हजार पाउन्ड हाराहारीमा सुरु हुन सक्ने अनुमान गरिएको छ ।