ओमोडा E5 प्रोको इन्ट्री, मूल्य र फिचरले प्रतिस्पर्धी ब्रान्डलाई दबाब

काठमाडौं । नेपाली बजारमा ओमोडाको नयाँ फेसलिफ्ट संस्करण ओमोडा E5 प्रो आधिकारिक रूपमा सार्वजनिक भएको छ । नेपालका लागि ओमोडाको आधिकारिक वितरक SPG अटोमोबाइलले नयाँ इलेक्ट्रिक एसयूभीको बिक्री सुरु गरेको हो ।

कम्पनीले नयाँ ओमोडा E5 प्रोको मूल्य सिंगल टोन भेरियन्टका लागि ५१ लाख ५९ हजार रुपैयाँ र डुअल टोन भेरियन्टका लागि ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । नयाँ मोडलको लन्चिङ अवसरमा कम्पनीले विशेष अफर पनि ल्याएको छ । कम्पनीका अनुसार पहिलो ५० ग्राहकले ओमोडा E5 प्रोलाई ४९ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् ।
नेपालमा यसअघि नै १,५०० भन्दा बढी युनिट बिक्री भइसकेको ओमोडा E5 अब नयाँ डिजाइन, अपडेटेड फिचर तथा थप परिष्कृत प्रविधिसहित E5 प्रोका रूपमा आएको हो ।

सानो ब्याट्री, प्रतिस्पर्धी रेन्ज

नयाँ ओमोडा E5 प्रोमा ५०.७ किलोवाट–आवर क्षमताको लिथियम ब्याट्री प्याक प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले एकपटकको पूर्ण चार्जमा ३५० किलोमिटर WLTP रेन्ज प्रदान गर्छ ।
यसअघिको E5 मा ६१ किलोवाट–आवर ब्याट्री प्याक उपलब्ध थियो । ब्याट्री क्षमता घटाइए पनि मूल्यलाई थप प्रतिस्पर्धी बनाउने रणनीतिअन्तर्गत नयाँ संस्करण ल्याइएको अनुमान गरिएको छ ।
पावरट्रेनतर्फ भने ९९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटरलाई निरन्तरता दिइएको छ, जसले २८८ एनएम टर्क उत्पादन गर्छ । यसले शहरी तथा राजमार्ग दुवै प्रकारका यात्रामा सहज प्रदर्शन दिने कम्पनीको दाबी छ ।

उच्च ग्राउण्ड क्लियरेन्स र आकर्षक डिजाइन

नेपाली सडक अवस्थालाई ध्यानमा राख्दै E5 प्रोमा १९१ एमएम ग्राउण्ड क्लियरेन्स प्रदान गरिएको छ । साथै १८ इन्चका अलोय ह्वीलले यसको स्पोर्टी लुकलाई थप आकर्षक बनाएको छ ।
बाहिरी डिजाइनमा ओमोडाको फियुचरिस्टिक डिजाइन भाषा प्रयोग गरिएको छ । बोल्ड फ्रन्ट फेसिया, एरोडाइनामिक प्रोफाइल तथा नयाँ टेललाइटले गाडीलाई आधुनिक र प्रिमियम उपस्थिति दिएको छ ।

प्रिमियम क्याबिन र आधुनिक प्रविधि

इन्टेरियरतर्फ E5 प्रोमा इलेक्ट्रिक सनरुफ, उच्च गुणस्तरका सामग्री प्रयोग गरिएको प्रिमियम क्याबिन तथा आधुनिक डिजिटल प्रविधिको संयोजन गरिएको छ ।
गाडीमा १५.६ इन्चको ठूलो वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले, ८–स्पिकर अडियो सिस्टम तथा ड्राइभर मसाज सिट जस्ता फिचर समावेश छन् । यी सुविधाले यात्रालाई थप आरामदायी र प्रिमियम बनाउने अपेक्षा गरिएको छ ।

सुरक्षा सुविधामा पनि बलियो

सुरक्षाका लागि E5 प्रोमा १९ भन्दा बढी ADAS फिचर उपलब्ध छन् । साथै ५४० डिग्री सराउन्ड भ्यू क्यामेराले पार्किङ तथा साँघुरा स्थानमा गाडी चलाउन सहज बनाउँछ ।
मूल्य घट्दै थप फिचर र नयाँ डिजाइनसहित आएको ओमोडा E5 प्रोले नेपाली इलेक्ट्रिक एसयूभी बजारमा प्रतिस्पर्धा थप रोचक बनाउने अपेक्षा गरिएको छ । विशेष गरी ५० लाख रुपैयाँ हाराहारीको मूल्य वर्गमा प्रिमियम फिचर खोज्ने ग्राहकका लागि यो नयाँ विकल्प बन्न सक्ने देखिन्छ ।