बाढीले रसुवागढी रोक्यो, कोरलाले खोल्यो ओमोडा–जेइकूको बाटो
काठमाडौं । बुकिङ गरेको गाडी कहिले आइपुग्ला भन्ने प्रतीक्षामा रहेका ग्राहकका लागि वैकल्पिक व्यापारिक नाकाले बाटो खोलेको छ । रसुवागढी क्षेत्रको अवरोधबीच मुस्ताङको कोरला नाकाबाट नयाँ गाडी नेपाल पठाइएपछि देशभर डेलिभरी सुरु गर्ने तयारी भएको हो ।
नेपालका लागि ओमोडा र जेइकूको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले दुवै ब्रान्डका गाडीको नयाँ खेप कोरला नाकाबाट पठाइसकिएको जनाएको छ । ती गाडी अहिले विभिन्न सहरमा रहेका आधिकारिक डिलर नेटवर्कतर्फ लैजाने क्रममा छन् ।
हालैको विनाशकारी बाढीले रसुवागढी मार्गमा अवरोध पुर्याएपछि कम्पनीले कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरेको हो । नयाँ मार्गबाट गाडी ल्याउँदा बुकिङअनुसारको डेलिभरी धेरै नलम्बिने कम्पनीको अपेक्षा छ ।
नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शो २०२६ का क्रममा ओमोडा तथा जेइकूका गाडीमा उल्लेख्य सोधपुछ र बुकिङ भएको थियो । त्यही माग सम्बोधन गर्न ल्याइएको नयाँ खेप देशभरका आधिकारिक शोरुममा पठाउन थालिएको कम्पनीले जानकारी दिएको छ ।
नेपालमा ओमोडा ई५ र ई५ प्रो बिक्री हुँदै आएका छन् । यी मोडलमा १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, इलेक्ट्रिक सनरुफ, लेभल २.५ एडास तथा भेन्टिलेटेड, हिटेड र मसाज सुविधा भएका सिट उपलब्ध छन् ।
जेइकूको नेपाली पोर्टफोलियोमा जे५, जे५ प्रो र जे६टी समावेश छन् । जे५ र जे५ प्रोमा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक मुनरुफ, ४८० लिटर बुट स्पेस, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन र भेन्टिलेटेड सिट दिइएको छ ।
अलि कठिन सडक र लामो यात्रालाई लक्षित जे६टीमा २२५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ । यसमा ६५.६९ किलोवाट आवरको ब्याट्री, १३५ किलोवाटको मोटर र एकपटकको फुल चार्जमा ४३१ किलोमिटरसम्मको दाबी गरिएको रेन्ज उपलब्ध छ । गाडीमा प्यानोरामिक सनरुफ पनि दिइएको छ ।
कम्पनीका अनुसार नयाँ खेप डिलर नेटवर्कमा पुगेपछि पहिले बुकिङ गरेका ग्राहकलाई प्राथमिकताका आधारमा गाडी हस्तान्तरण गरिनेछ । मोडलको उपलब्धता, फिचर र डेलिभरी समयबारे नजिकको आधिकारिक शोरुमबाट जानकारी लिन सकिने एसपीजी अटोमोबाइल्सले जनाएको छ ।
नेपालमा चीनबाट आयात हुने धेरै गाडीका लागि रसुवागढी प्रमुख मार्ग रहँदै आएको छ । प्राकृतिक विपद्का कारण उक्त मार्ग प्रभावित हुँदा डेलिभरी तालिका, ढुवानी खर्च र डिलरको मौज्दातमा दबाब पर्न सक्छ । यस्तो अवस्थामा कोरला नाकाको प्रयोगले तत्कालीन आपूर्ति सहज बनाउनुका साथै उत्तरी नाकामा निर्भर अटोमोबाइल व्यवसायका लागि वैकल्पिक मार्गको व्यावहारिक सम्भावना पनि देखाएको छ ।