मलेसियामा बिक्री उकालो, नेपालमा प्रोटोनको अर्को ईभी मोडल भित्रिने तयारी
काठमाडौं । नेपालमा प्रोटोनको विद्युतीय एसयूभी e.MAS 7 160kW को सफल बिक्रीपछि जगदम्बा मोटर्सले आफ्नो विद्युतीय सवारी (ईभी) लाइनअप विस्तार गर्ने तयारी गरेको छ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले आगामी दिनमा थप नयाँ ईभी मोडल नेपाली बजारमा ल्याउने संकेत दिएको हो ।
कम्पनीका अनुसार प्रोटोन e.MAS 7 ले नेपाली ग्राहकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । यसको सकारात्मक बजार प्रतिक्रियाले कम्पनीलाई नेपालमा आफ्नो विद्युतीय सवारी रणनीति थप आक्रामक रूपमा अघि बढाउन प्रेरित गरेको जनाएको छ ।
यसबीच, मलेसियामा प्रोटोनले विद्युतीय सवारी बिक्रीमा उल्लेखनीय वृद्धि हासिल गरेको छ । सन् २०२६ को जनवरीदेखि अप्रिलसम्मको चार महिनामा मात्रै कम्पनीले ११ हजार ६१७ भन्दा बढी विद्युतीय तथा विद्युतीकृत सवारी बिक्री गर्दै ३२९ प्रतिशतको वृद्धि हासिल गरेको छ ।
बढ्दो मागलाई सम्बोधन गर्न प्रोटोनले मलेसियाको तान्जुङ मालिमस्थित आफ्नो ईभी उत्पादन केन्द्र विस्तार गर्न ३ करोड ७० लाख मलेसियन रिङ्गेट लगानी गर्ने घोषणा गरेको छ । उक्त विस्तारपछि कम्पनीको वार्षिक उत्पादन क्षमता दोब्बरभन्दा बढी बढेर ४२ हजार युनिट पुग्नेछ ।
जगदम्बा मोटर्सका एक प्रतिनिधिले नेपालमा e.MAS 7 ले पाएको प्रतिक्रिया उत्साहजनक रहेको बताउँदै नेपाली उपभोक्ता गुणस्तरीय विद्युतीय सवारीप्रति आकर्षित भइरहेको संकेत गरेको बताए ।
हाल नेपाली बजारमा उपलब्ध प्रोटोन e.MAS 7 160kW प्रिमियम इलेक्ट्रिक एसयूभीमा १६० किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ । यो गाडीले एनईडीसी (NEDC) मापदण्डअनुसार एक पटकको चार्जमा ४७५ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ ।
यसमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, हेडरेस्ट स्पिकर प्रणाली, एड्भान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ टेक्नोलोजी, आधुनिक इन्टेरियर, अत्याधुनिक सुरक्षा तथा कनेक्टिभिटी फिचरहरू उपलब्ध छन् ।
हाल e.MAS 7 खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बीमा, एक वर्षको सडक कर छुट, ७ किलोवाट क्षमताको होम चार्जर, आठ वर्षको निर्माता वारेन्टी तथा आकर्षक नगद छुटको सुविधा प्राप्त गरिरहेका छन् ।
कम्पनीले अब चाँडै प्रोटोन e.MAS 5 पनि नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ । मलेसियामा सन् २०२६ को सर्वाधिक बिक्री हुने विद्युतीय गाडीमध्ये एक बनेको e.MAS 5 विशेषगरी शहरी प्रयोगकर्तालाई लक्षित मोडल हो ।
जगदम्बा मोटर्सले प्रोटोनसँगै नेपालमा TVS दुईपांग्रे सवारी, चेरी वान्डा कमर्सियल ईभी तथा JMEV ब्रान्डका विद्युतीय सवारीको समेत बिक्री वितरण गर्दै आएको छ ।