Newad1
Featured blog image

लाइसेन्स बनाउने तयारीमा हुनुहुन्छ? साउनदेखि बागमतीमा शुल्कमा ठूलो वृद्धि

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी साउन १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सबै प्रमुख सेवामा लाग्ने शुल्क दोब्बर बनाउने भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि ल्याइएको आर्थिक विधेयकमार्फत आवेदन, नयाँ लाइसेन्स, नवीकरण तथा वर्ग थपसम्बन्धी शुल्कमा उल्लेख्य वृद्धि गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार लाइसेन्सका लागि आवेदन दिने सेवाग्राहीले अब १ हजार रुपैयाँ तिर्नुपर्नेछ । यसअघि आवेदन शुल्क ५०० रुपैयाँ थियो ।

दुईपाङ्ग्रे सवारीका लागि ए वर्ग अन्तर्गत नयाँ लाइसेन्स तथा नवीकरण शुल्क १ हजार ५०० रुपैयाँबाट ३ हजार रुपैयाँ पुगेको छ । त्यस्तै कार, जीप, भ्यान (बी वर्ग), टेम्पो तथा अटोरिक्सा (सी वर्ग) र पावर ट्रिलर (डी वर्ग) को लाइसेन्स तथा नवीकरण शुल्क २ हजारबाट ४ हजार रुपैयाँ कायम गरिएको छ ।

ट्र्याक्टर (ई वर्ग) तथा मिनीबस र मिनी ट्रक (एफ वर्ग) को शुल्क अब ५ हजार रुपैयाँ लाग्नेछ, जुन यसअघि २ हजार ५०० रुपैयाँ थियो ।

त्यसैगरी ट्रक, बस, लहरी (जी वर्ग), रोडरोलर तथा डोजर (एच वर्ग), क्रेन, दमकल र लोडर (आई वर्ग) तथा एस्काभेटर, ब्याकहो लोडर र ग्रेडर (जे वर्ग) का लागि नयाँ लाइसेन्स तथा नवीकरण शुल्क ३ हजारबाट बढाएर ६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

वर्ग थप गर्न चाहने सेवाग्राहीका लागि पनि नयाँ शुल्क लागू हुनेछ । एदेखि एफ वर्गसम्म वर्ग थप गर्दा १ हजार रुपैयाँ र जीदेखि जे वर्गसम्म २ हजार रुपैयाँ तिर्नुपर्नेछ । यसअघि यी शुल्क क्रमशः ५०० रुपैयाँ र १ हजार रुपैयाँ रहेका थिए ।

यद्यपि, चालक अनुमतिपत्रको १० वर्षे वैधता अवधि भने यथावत् राखिएको प्रदेश सरकारले जनाएको छ ।

नयाँ शुल्क संरचना लागू भएपछि बागमती प्रदेशमा पहिलो पटक लाइसेन्स बनाउने, नवीकरण गर्ने वा नयाँ वर्ग थप गर्ने सेवाग्राहीको खर्च उल्लेख्य रूपमा बढ्ने भएको छ । यो निर्णयले प्रदेश सरकारको आन्तरिक राजस्व बढाउने अपेक्षा गरिए पनि सर्वसाधारणमाथि थप आर्थिक भार पर्ने देखिएको छ ।

footer