Newad1
Featured blog image

पृथ्वी राजमार्गमा रातिको यात्रा छ ? बन्दको समय ख्याल गर्नुहोस्

काठमाडौं । पृथ्वी राजमार्गको गजुरी–गलौँदी सडकखण्डमा आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म सबै सवारीसाधनको आवागमन बन्द हुने भएको छ । त्रिशूली नदीको कटानले भासिएको सडकमा थप मर्मत गर्न जिल्ला प्रशासन कार्यालय धादिङले छ घण्टा यातायात रोक्ने सूचना जारी गरेको हो ।

प्रशासनका अनुसार गजुरी गाउँपालिका–५, गलौँदीमा मर्मतसम्भारका लागि असोज २६ गते सोमबार राति ११ बजेदेखि असोज २७ गते मंगलबार बिहान ५ बजेसम्म उक्त खण्ड पूर्ण रूपमा बन्द रहनेछ । यस अवधिमा सडकखण्ड पार गर्ने यात्रुवाहक र मालवाहकसहित सबै सवारीको आवागमन रोकिनेछ ।

नदीले सडकको तल्लो भाग कटान गरेपछि भासिएको क्षेत्रमा नयाँ ट्र्याक बनाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको थियो । सञ्चालनमा आए पनि थप मर्मत आवश्यक भएकाले रातिको समयमा सवारी रोकेर काम गर्न लागिएको हो । दुईतर्फी आवागमन पुनः सुरु भएको विवरण आइतबार प्रकाशित भएको थियो ।

राति पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा चालकलाई बन्दको समय ध्यानमा राखेर यात्राको योजना बनाउन प्रशासनले आग्रह गरेको छ । विशेषगरी काठमाडौंबाट बाहिरिने वा काठमाडौं भित्रिने सवारीले गलौँदी पुग्ने समय मिलाउनुपर्नेछ ।

मर्मतका क्रममा आवागमन बन्द हुँदा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति प्रशासनले क्षमायाचना गरेको छ ।

footer